काठमाडौं– नेपाल भ्रमणमा आएका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकको हितबारे कुरो उठाएका छन्। शुक्रबारको भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउनेबारे छलफल भएको श्रम मन्त्रालयले बताएको छ।
बैठकपछि श्रममन्त्री अर्यालले मलेसियासँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवा–सुविधा दिने विषयमा छलफल भएको बताए। मन्त्री अर्यालले भने, ‘मलेसियासँगको सम्बन्ध थप बलियो बनाउने र नेपाली श्रमिकको हितबारे गृहमन्त्री नासुसनसँग विस्तृत छलफल भयो। नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा–सुविधा दिने विषयमा कुरा उठायौं। त्यसका लागि नेपालले श्रमिकलाई सीप सिकाएर पठाउने कुरा भएको छ।’
मलेसियाका गृहमन्त्री नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिक मलेसिया गएको जानकारी दिए। तीमध्ये १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेको बताए। ७० हजार नेपाली सुरक्षागार्डमा कार्यरत रहेको उनको भनाइ छ। मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेकाले त्यसले नेपाली कामदार झनै लाभान्वित हुने गृहमन्त्री नासुसनको जानकारी दिए। मलेसिया रोजगारीमा रहेका नेपाली कामदारको ज्यालामा बढाउने नीति रहेको उनले बताए।
तीनदिने नेपाल भ्रमणमा बिहीबार बेलुकी काठमाडौं ओर्लिएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।