शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेश रोजगारीमा ज्यान गुमाएका ६३८ जनालाई बाँडियो प्रतिव्यक्ति ७ लाख

विदेश रोजगारीमा ज्यान गुमाएका ६३८ जनालाई बाँडियो प्रतिव्यक्ति ७ लाख

वैधानिक माध्यमबाट वैदेशिक रोजगारमा गएपछि हुने भवितव्यमा पर्ने हकवालाका परिवारलाई कोषले आर्थिक सहायता उपलब्ध गराएको हो।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं– श्रम स्वीकृति लिई विदेश रोजगारीमा गएर ज्यान गुमाएका ६३८ जनाले चालू आर्थिक वर्ष साउनदेखि माघसम्म प्रतिव्यक्ति ७ लाखका दरले आर्थिक सहायता प्राप्त गरेको वैदेशिक रोजगार कल्याणकारी कोषले विवरण सार्वजनिक गरेको छ। वैधानिक माध्यमबाट वैदेशिक रोजगारी गएपछि हुने भवितव्यमा पर्ने हकवालाका परिवारलाई कोषले उक्त रकम उपलब्ध गराइएको हो। 

श्रम स्वीकृति लिएर दुई वर्षको करार गरेर खाडी र मलेसिया जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा २ हजार ५०० जम्मा गर्नुपर्छ भने दुई वर्षभन्दा माथिको करार अवधिमा दक्षिण कोरिया, इजरायललगायतमा जानेले प्रतिव्यक्ति ३ हजार ५०० जम्मा गर्नुपर्छ । 

तर भ्रमण भिसामा गएर काम गरिरहेकाहरूले भन्ने यस्तो सहायता नपाउने वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कँडेलले बताइन्।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई भ्रमण भिसामा गएर काम गर्नेलाई आर्थिक सहायता रकम दिन नसकिने प्रावधान रहेको उनको भनाइ छ। उनले भनिन्, ‘श्रम स्वीकृति लिएर गएका, श्रम स्वीकृति लिएको करार अवधि सकिए पनि एक वर्ष कटेकालाई आर्थिक सहायता दिन नमिल्ने व्यवस्था छ। विदेशमा काम गर्न जाँदा श्रम स्वीकृति लिएको भए र त्यसको अवधि सकिए पनि दूतावासबाट दुई पटकसम्म पुनः श्रम स्वीकृति लिन सकिने प्रावधान छ।’ 

श्रम स्वीकृति नलिई विदेशमा गएर मृत्यु भएका श्रमिकको हकमा सम्बन्धित श्रमिकको घरसम्म निःशुल्क शव ढुवानी गरिदिनेबाहेक अन्य आर्थिक सहायता गर्ने कानुनी व्यवस्था नभएको निर्देशक कँडेलले जानकारी दिइन्। 

Metro Mart
worldlink

बोर्डका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार वा अंगभंग भएर फर्किएका गरी ६३८ जनाले बोर्डबाट आर्थिक सहायताबापत प्रतिव्यक्ति ७ लाख  लिएका छन्। आव २०७९÷८० को साउनदेखि माघ महिनासम्म विदेशमा मृत्यु भएका परिवार र रोजगारीकै क्रममा अंगभंग भएर फर्किएका श्रमिकलाई कल्याणकारी कोषबाट २६ करोड १४ लाख ५० हजार उपलब्ध गराइएको बोर्डको सचिवालयले जनाएको छ। सो अवधिमा क्षतिपूर्ति लिएकामध्ये सबभन्दा धेरै विदेशमा काम गर्ने क्रममा मृत्यु भएका १५४ जना छन् भने प्राकृतिक मृत्यु भनिएका १३७ रहेका छन्।

उक्त अवधिमा सडक र ट्राफिक दुर्घटना कारण मृत्यु भएका ८२, आत्महत्या गरेका ४६, हृदयाघातबाट मृत्यु भएका ४३, कार्यस्थल दुर्घटनाबाट मृत्यु भएका १४ र मृत्युको कारण नखुलेका ६७ जनाका परिवारलाई आर्थिक सहायता पाएका छन्।

कोषका अनुसार सो अवधिमा सबभन्दा धेरै आर्थिक सहायता लिने साउदीमा ज्यान गुमाएका १८८ जना छन्। यीमध्ये ६० जनाको मृत्यु प्राकृतिक भनिएको छ। 

कामको खोजीमा विदेशिए ३८ हजार बढी नेपाली
पुसमा मात्रै विदेश रोजगारीका लागि ३९ हजार नेपाली बाहिरिएको वैदेशिक रोजगार विभागले तथ्यांक सार्वजनिक गरेको छ। पुसमा ३८ हजार ८६४ जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका हुन्। 

विभागको तथ्यांकअनुसार संस्थागत श्रम स्वीकृति लिएर विदेश रोजगारीमा जाने ३२ हजार ५९७ रहेका छन् भने ५ हजार १०२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा जानेमा ३५ हजार १७५ पुरुष र ३ हजार ६८९ महिला रहेका छन्। 

पुसमा १ हजार १६५ जना जीटुजीमार्फत दक्षिण कोरिया गएको विभागको तथ्यांक छ। पुसमा सबैभन्दा १६ हजार ७५५ जना मलेसिया रोजगारीमा गएका छन्। त्यसपछि साउदीमा ६ हजार २३५, युएईमा ४ हजार ५४३, कतारमा २ हजार ५०६, कुवेतमा २ हजार ७८९, दक्षिण कोरियामा १ हजार २०७ जना गएका छन्। १८५ जना बेलायत पुगेका छन्। 

जिल्लागत तथ्यांकअनुसार पुसमा वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी धनुषाका छन्। धनुषाबाट १ हजार ४६६ जना वैदेशिक रोजगारीमा गएको विभागले बताएको छ।


प्रकाशित: Feb 03, 2023| 16:50 शुक्रबार, माघ २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्