काठमाडौं– नेपाली विषयमा स्नातकोत्तर झापा गौरादहकी जानुका खतिवडा विगत डेढ दशकदेखि शिक्षण पेसामा आबद्ध छन्। यसअघि उनका शून्य (उपन्यास), असल साथी र कसले चोर्यो चकलेट (बालकथा संग्रह), उज्यालोको रङ (किशोर उपन्यास) प्रकाशित भइसकेका छन्। ‘आतोओडा’ उनको पाँचौं कृति हो। झापा गौरादहका सीमान्तकृत समुदायमा पर्ने सन्थाल जातिको जनजीवनमा आधारित आतोओडाको अर्थ हुन्छ, गाउँबस्ती। सन्थाल समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न पक्षमा केन्द्रित छ, यो उपन्यास। सीमान्तकृत सन्थाल फूलमुनि, बुधिन तुरसा, लुखीहरूको जीवन संघर्ष, सन्थाल गाउँबस्तीको भाषा, लवाइखुवाइ र दैनिक व्यवहार उपन्यासमा पाइन्छ। झापा विद्रोहमा साथ दिने सन्थालहरूलाई आज पनि पहिचान र अधिकारीविहीन बनाइएको कथा समेटिएको आतोओडा उपन्यासकी सर्जक जानुका खतिवडासँगको पुस्तक वार्ता:
पहिलो उपन्यास ‘शून्य’ प्रकाशित भएको सात वर्षपछि ‘आतोओडा’ उपन्यासमार्फत देखा पर्नुभएको छ। व्यक्ति जीवनको समस्या र असन्तुलनले जन्मने वितृष्णा एवं निस्सारतालाई मूल विषय बनाइएको ‘शून्य’ बाट ‘आतोओडा’ जस्तो सामाजिक विषयमा उपन्यास लेख्न तपाईंलाई केले प्रेरित गर्यो?
दाजुको शोधपत्र लेखनका क्रममा म सन्थाल समुदाय नजिक पुगें। त्यसबेला मैले यस समुदायले भोग्नुपरेका विवशता, सामाजिक अपहेलना र अवसरको सीमितताबारे बुझें, जुन मैले जाने–बुझेको समाजभन्दा नितान्त फरक थियो। विगतमा उनीहरूको त्याग अनि संघर्ष तर वर्तमानमा त्यसको शून्य उपलब्धि र कठिन दिनचर्याले मेरो मनलाई छोयो। अनि, मैले यो उपन्यासमार्फत त्यस कुरालाई आवाज दिन खोजें ।
‘आतोओडा’ कस्तो उपन्यास हो?
‘आतोओडा’ले सामाजिक यथार्थ बोल्छ। यसले ओझेल परेको सन्थाल समुदायको यथार्थ र दयनीय अवस्थाको चित्रण गरेको छ। आर्थिक, राजनीतिक रूपले किनारामा धकेलिएका सीमान्तकृत समुदाय नागरिकताविहीन, भूमिहीन हुनुपर्ने र समाजका उच्च वर्ग भने तिनैलाई सिँढी बनाएर माथि उक्लिने गरेपछि उब्जने सकसलाई यसले आफ्नो विषय बनाएको छ।
यसलाई आञ्चलिक उपन्यास अथवा सांस्कृतिक उपन्यास भन्न सकिन्छ?
सामाजिक यथार्थको धरातलमा उभिए पनि उपन्यासले विशेषगरी एउटा क्षेत्र वा भूगोल विशेषको समुदायलाई समेटेको हुँदा आञ्चलिक उपन्यास पनि भन्न सकिएला।
सीमान्तकृत सन्थाल फूलमुनि, बुधिन तुरसा, लुखीहरूको जीवन संघर्ष, सन्थाल गाउँबस्तीको भाषा, लवाइखुवाइ र दैनिक व्यवहारबारे उपन्यासमा सबिस्तार गरिएको छ।
फरक समुदाय र सामाजिक सांस्कृतिक परिवेशलाई आख्यानमा उतार्न कत्तिको कठिन हुँदो रहेछ ?
आफूले देखे/भोगेभन्दा फरक समुदाय र सामाजिक, सांस्कृतिक परिवेश भएको हुनाले त्यसको धेरै अध्ययन र अनुसन्धान गर्नुपर्ने, समुदायका अगुवासँग सोधपुछ गरेर तिनका समस्याको चिरफार गर्नुपर्ने, मेलापर्वको अवलोकन गरी त्यसको मिठासलाई जोगाउनुपर्ने र विशेषगरी भुइँमान्छेको कथा भएकाले माटोको वास्नालाई पनि कायम राख्नुपर्ने अवस्थाका कारण कठिन र चुनौतीपूर्ण थियो। त्यसैले मैले भन्ने गरेकी छु–यो मैले पूmलको माला होइन, भीरगौंडीको माला उन्ने प्रयास गरेकी हुँ।
उपन्यासको शीर्षक नेपाली भाषाइतरको शब्दबाट चयन गर्नुभएको छ। यो पृथक देखिने मोह हो कि अरू नै कुनै कारण?
उपन्यासको शीर्षक उपन्यासले जसको प्रतिनिधित्व गरेको छ, जसका समस्या र विवशता प्रस्तुत गरेको छ, जसको भाषा र संस्कृतिको चर्चा छ, त्यसैलाई प्रतिनिधित्व गर्दछ । ‘आतोओडा’ को अर्थ गाउँबस्ती अथवा गाउँघर भन्ने हुन्छ। यस उपन्यासले सन्थाल समुदायको गाउँबस्तीतिर डोहोर्याउने हुँदा शीर्षकले उपन्यासको आधार प्रस्तुत गरोस् भन्ने उद्देश्यले सन्थाल भाषाबाटै यो शीर्षक चयन गरिएको हो।
उपन्यासको मुख्यपात्र पूmलमुनि आफूले खेप्नुपरेका अन्याय, अमेल एवं भेदभावप्रति जानकार भएर पनि विद्रोही किन नबनेको? उपन्यासको समयसीमा हेर्दा यसमा माओवादी आन्दोलनको सानो कालखण्ड पनि प्रतिध्वनित हुन्छ तर समुदायकी त्यति सक्रिय चरित्रसम्म त्यो आन्दोलन पुगेको देखिँदैन किन होला?
विद्रोह मानिसको स्वभावै हो। आफूलाई अमिल्दो परिवेशमा मानिसले विद्रोह गर्छ। उपन्यासमा पनि त्यही अवस्था प्रस्तुत भएको छ। तर उपन्यासका पात्रको पारिवारिक र सामाजिक अवस्था यस्तो कठिन छ कि उनीहरू त्यसमा जकडिएका छन् र त्यसबाट चाहेर पनि उम्कन सक्दैनन्। उनीहरूसँग टेक्ने, समाउने आधार नै कमजोर छ। त्यसैले उनीहरूको विद्रोही स्वभाव र परिस्थिति कमजोर बनेको हो। तपाईंले भनेजस्तै माओवादी आन्दोलनको प्रभाव पूmलमुनिसम्म पुग्न सकेको छैन किनकि त्यसले उनीहरूलाई सिँढी बनाएर गयो र बदलामा पहिचान पनि दिन सकेन।
उपन्यासको भीडमा ‘आतोओडा’को पृथक कुरा के छ? पाठकले यो कृति पढ्नुपर्ने कारण के?
व्यवस्था परिवर्तनसँगै आएको राजनीतिक चेतनाका कारण नेपालका धेरै जाति वा समुदायको उत्थान हुँदै गरेको अवस्थामा पनि यी सबै कुराबाट अप्रभावित, आज पनि दमित जिन्दगी बाँच्न विवश किनाराकृत समुदायको सम्पूर्ण पक्षलाई उपन्यासले उजागर गरेको छ। यो यसको सबल पक्ष हो। यसबारे एउटा सामान्य नेपाली नागरिकदेखि सांस्कृतिक अध्यता र राजनीतिज्ञसम्म सबैले जानकारी राख्नु जरुरी छ। त्यसैले पनि यो उपन्यास पढिनुपर्छ।