काठमाडौं- गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेदलाई मिलाउन प्रमुख सत्तारुढ दलहरूले छलफललाई तीव्रता दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै भेट गरेका थिए। मन्त्रालयको विषयलाई लिएर आज पनि सत्तारुढ दलहरू आन्तरिक छलफलको तयारीमा छन्। माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैँले राख्ने तयारी गरेपछि सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढेको छ।
सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि गृह मन्त्रालय रिक्त छ। पद मुक्त भएका लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन्।
रास्वपाले आफूले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ। गृह मन्त्रालयमा फर्कनको लागि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर भेट गरिरहेका छन्।
एमालेले भने सहमति अनुसार लामिछानेकै राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्नेमा जोड दिँदै आएको छ।