आइतबार, जेठ ५, २०८२

मौरीपालन पेसा फस्टाउन नसक्दा चिन्तामा कृषक

कटारी रिस्कुका ६८ वर्षीय कृषक धनबहादुर खत्री २०६७ सालदेखि आफू निरन्तर मौरीपालन पेसामा रहेको बताउँछन्। मौरी मासिने क्रम बढ्दै गएपछि सोचेजस्तो मह उत्पादन गर्न नसकिएको उनको अनुभव छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

उदयपुर- उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन्। चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताए। उनी भन्छन्, ‘बर्सेनि मौरीको महका लागि बगैँचा, फूलको अभाव छ। अर्कातिर कृषकले रासायनिक मल, विषादी प्रयोग गरेर खेती गर्दा अधिकांश मौरी विषादीले मर्ने गरेका छन्।’

सिद्धिपुरका दीपक मगर विभिन्न कारणले मौरी मासिन थालेको बताउँछन्। त्यसैले मौरीका घार रित्तिने सम्भावना बढेको उनको भनाइ छ। चौदण्डी नगरपालिकाको रानीबास, बबला, सावासिद्धपुर क्षेत्रमा चार वर्षयता झन्डै ६ सय आधुनिक घार मौरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ। कृषकले सोचेजस्तो मह उत्पादन गर्न नसक्दा व्यावसायिक रुपमा घाटा ब्यहोर्नु परेको रानीबासका कृषक देवराज बिष्टको गुनासो छ।

बेलका क्षेत्रका ४० कृषकले झन्डै सात सय ५० घार मौरीपालन गरेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बताउँछन्। प्रमुख कार्कीका अनुसार मौरीको चर्ने तथा मह सङ्कलन गर्ने स्थान, रूख बिरुवा, तरकारी, तोरी खेतीमा विषादी प्रयोग गर्दा मौरी मर्ने वा मासिने कारण कृषकले सोचेजस्तो फाइदा लिन सकिरहेका छैनन्।

कार्कीले अहिले नगरपालिका जिल्लाकै व्यावसायिक मौरीपालनमा अब्बल रहेको दाबी गरे। बेलकामा परम्परागत डुडेमौरी पालन परिवर्तन गरेर धेरै कृषकले आधुनिक घारेमौरी सुरु गरेको स्थानीय सुजनकुमार बिष्ट बताउँछन्। कटारी नगरपालिकाको रिस्कु, सिरीसे, हर्देनी, सोरुङछबीसे क्षेत्रमा व्यावसायिक रुपमा मौरीपालन बढेको छ। 

कटारी रिस्कुका ६८ वर्षीय कृषक धनबहादुर खत्री २०६७ सालदेखि आफू निरन्तर मौरीपालन पेसामा रहेको बताउँछन्। मौरी मासिने क्रम बढ्दै गएपछि सोचेजस्तो मह उत्पादन गर्न नसकिएको उनको अनुभव छ। 

मध्यपहाडी क्षेत्रको उदयपुरगढीको भलायाँडाडाँ, डुम्रे र रौतामाई गाउँपालिकाको रौता, मुर्कुची, बोलुङखा, भुटार, नामेटार र मलबासे क्षेत्रका कृषकले पनि  यस्तै समस्या भोगेको उनीहरुको भनाइ छ। 

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार २०७४ सालसम्म जिल्लामा पाँच सय घार डुडे र चार सय जति घारे मौरीघार थियो। अहिले जिल्लामा सात सय घारसम्म परम्परागत डुडें मौरीपालन र झन्डै एक हजार एक सय आधुनिक मौरीपालन घार रहेको  कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले जानकारी दिए। बेलका नगरपालिका सेतीखोलाका कृषक कृष्णप्रसाद ढुङ्गानाले तीन वर्ष अघिसम्म आधुनिक मेलिफेरा मौरीको एक घारमा एक वर्षमा १५ देखि २० केजीसम्म मह आफूले उत्पादन गर्न सफल भएको अनुभव सुनाए।

प्रकाशित: Feb 01, 2023| 22:30 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्