शुक्रबार, असार २०, २०८२

फापर र जुनेलो खेती लोप हुँदै

विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

उदयपुर– जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन्।  विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो।

ती क्षेत्रमा  पछिल्लो समय फापर र जुनेलो खेती नै हुन छाडेको कृषहरु बताउँदछन्।  १२ वर्षअघि सम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक खम्बबहादुर मगरले भने, ‘केही वर्षअघि सम्म आफूले गाउँमा अरूले बिस्तारै यो खेती छाड्दै लगे, चार वर्षयता आएर म आफूले पनि यो खेती अहिले पूर्ण रुपमा छाडी दिएको छु।’

परम्परागत खेती छाड्दै गएको कारण अहिले जुनेलो र फापर उत्पादन हुन छाडेको उनले बताए। रौता रामेटारमा क्षेत्रमा विगतका वर्षहरुमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन गर्ने र बिक्री गर्ने गरे पनि अहिले जुनेलो खेती कृषकहरुले गर्न छाडेको रामेटारका ६७ वर्षीय सूर्यबहादुर कार्कीले बताए।

विगतमा गाउँका एक कृषकले पाँच, सात मुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक २० हजारभन्दा बढीको फापर र जुनेलो बिक्री गर्ने गरेको उनले बताए। घरपरिवारमा बिहान–बेलुकी खाजाका रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खाने जुनेलो पाउन छाडेको रौता मलबासेका स्थानीयवासी डिकबहादुर मगर बताउँछन्।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको भलायाडाँडा, तावाश्री, बाहुनीटार, इनामे क्षेत्रमा विगतका वर्षहरुमा व्यापक रुपमा उत्पादन हुँदै आएको फापर हिजोआज खेती हुन छाडेपछि यसको उत्पादन पनि झन्डै शून्य अवस्था नै हुन पुगेको भलायाडाँडाका स्थानीय कर्णबहादुर अधिकारीले बताए। उनले भने, ‘विगतमा पम्परागत खेतीको प्रचलन थियो, काम गर्ने जनहरु प्रशस्त हुन्थे, त्यसकारण गाउँघरका पाखाबारीहरुमा फापर उत्पादन हुने गरेको थियो, तर अहिले परम्परागत खेती हराउन थाल्यो, गाउँमा काम गर्ने मान्छे पनि पाउन छाडियो, फापर खेती सबैले छाड्दै लगे।’

गाउँघरमा सडक आएपछि तराईमा उत्पादन भएको चामल गाउँमा आइपुग्न थालेको र गाउँको खेतमा पनि धान मकैमात्र खेती हुने गरेको कारण अहिले फापर खेती लोप हुँदै गएको भलायाडाँडाकै अर्का स्थानीय विष्णुप्रसाद काफ्ले बताउँछन्। विगतमा यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी फापर खेती उत्पादन हुने गरेको र बढी फापर उत्पादन हुने क्षेत्रका रुपमा परिचित रहेको काफ्लेले बताए। तर अहिले गाउँमा एक पाथी फापर किन्नका लागि पाउन मुस्किल हुने गरेको उनको भनाइ छ।  

उदयपुरगढी भलायाँडाँडाका ७० वर्षीय यमबहादुर बस्नेतले भने, ‘बूढापाकाहरु बूढा हुँदै गए, हिजोआजका युवाहरूले यो झन्झटिलो खेती गर्न चाहर्दैनन्, बारीमा हलो जोतेर फापर खेती गर्नु पर्छ, हलो जोत्ने मान्छे युवाहरुको पनि अभावको कारण गाउँघरबाट परम्परागत खेती हराउँदै गएको कारण पनि अहिले फापर, जुनेलो जस्ता अन्न बालीहरु लोप हुन थालेको हो।’

लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका मकरबहादुर राई गाउँगाउँमा सडक पुग्नु, गाउँका अधिकांश युवा पुस्ताहरू सहरतिर तथा विदेश पलायन हुँदै जाँदा परम्परागत रुपमा उत्पादन हुँदै आएको जुनेलो तथा फापर खेती लोप हुँदै गएको बताए। रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर जुनेलो र फापर जस्ता अन्नहरूको खेती प्रवर्द्धन गर्ने नीति लिएको जानकारी दिए।  

उदयपुरको रौतामाई, उदयपुर गढी, लिम्चुङबुङ तथा ताप्ली गाउँपालिकाका अधिकांश गाउँघरका खेतबारीमा फापर खेती र पाखा जग्गाहरुमा जुनेलो खेती हुने गरेको थियो।

प्रकाशित: Feb 01, 2023| 21:00 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।