काठमाडौं- माघ दोस्रो साता नसकिँदै तापक्रम बढ्ने क्रम सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अब तापक्रम क्रमशः बढ्दै जानेछ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ।
आज बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसदेखि २४ डिग्री सेल्सियसम्म पुग्ने मौसमविदले अनुमान गरेका छन्।
आज काठमाडौंको मौसम सफा रहनेछ। यस वर्ष काठमाडौंमा हिउँदे झरी भएकै छैन। विगतका वर्षमा पुस अन्तिम वा माघ पहिलो सातातिर पानी पर्ने र वरपरका डाँडामा हिउँ झर्ने गर्थ्यो।