काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट प्रयोग गर्नुपर्नेबारे छलफल गरेको छ।
खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा प्रायः उनीहरूनै पर्ने गरेको भन्दै मन्त्रालयले विस्तृत छलफल गरेको हो।
छलफलमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न सरकारी र सामाजिक निकाय तथा ब्यक्तित्वहरूको उपस्थिति थियो।
छलफलमा सहभागी एमाले नेता, सांसद एवं ‘रोड सेफ्टी एलायन्स’का कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधन नै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनुपरिरहेको बताए।
‘रोड सेफ्टी काउन्सिल’ निर्माण गर्न समेत अनिवार्य भैसकेको, अन्तर्राष्ट्रिय रुपमै हेल्मेट बाध्यकारी हुँदै गएको र यसका लागि आम जनचेतना हुनुपर्ने उनले बताए।