काठमाडौं– दुई साताअघि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटी लिएर सर्तसहित थुनामुक्त गरे पनि सरकार आदेश चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा निवेदन हाल्न पुगेको छ।
मंगलबार नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दर्ता गराएको हो।
सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। उनले भने, ‘सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने दुई आधार लिएर निवेदन दिएका हौं।’