काठमाडौं- नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले अवैध मदिराको कारोबारीहरुलाई कानुनी दायरामा ल्याउन अपिल गरेको छ।
संघका अध्यक्ष रमेश श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। ‘अवैध गुणस्तरहीन र मापदण्डविपरीतका उत्पादनहरुले राष्ट, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भीर नकारात्मक प्रभावका बारेमा सचेत रही यस किसिमका कार्यहरु कहीँकतै भएको जानकारी आएमा सचेत नागरिकको हैसियतले सम्बन्धित नेपाल सरकारका निकायहरुमा सूचना दिई त्यस्ता अबैध कारोबारीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिनु हुन अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
विगतमा पनि अवैध मदिराका कारण मानिसको जनस्वस्थ्यमा समेत असर पर्नुका साथै ज्यानै जानेसम्मको कार्यहरु भएको समाचार आएकाप्रति संघले ध्यानाकर्षण गराएको छ। ‘मदिराजस्तो संवेदनशील वस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिई नेपाल सरकारले तोकेको मापदण्डअनुसार ल्याब परीक्षण गरी स्वीकृति प्राप्त गरेरमात्र गर्नुपर्ने एवं बिक्री गर्दासमेत अनुमतिपत्र लिएकाले मात्र बिक्री गर्न पाउने कानुनी प्रावधान छ’, विज्ञप्तिमा भनिएको छ, ‘अवैध मदिराको उत्पादन एवं बिक्रीवितरणबाट सरकारको राजश्वमा असर पर्नुका साथै यस किसिमका अवैध मदिराको आयात, उत्पादन, बिक्रीवितरण एवं उपभोगले देशको राजश्व, कानुनबमोजिम स्थापित उद्योगहरुको व्यावसायिक ख्याति, सिर्जित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न जाने तथ्यप्रति सचेत रहन सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ।’
नेपाल सरकार, आन्तरिक राजश्व विभाग एवं सोअन्तर्गतका विभिन्न आन्तरिक राजश्व कार्यालयहरु र नेपाल प्रहरीका तर्फबाट बजार अनुगमन एवं अनुसन्धान कार्यलाई सक्रियतापूर्वक तीव्रता दिएका कारण देशका विभिन्न भागबाट विभिन्न किसिमका अबैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली अन्तःशुल्क टिकट भएका मदिरा, सुर्तिजन्य पदार्थसहितका अन्तः शुल्कजन्य पदार्थहरु बरामद गरी उक्त कसुरमा संलग्न व्यक्तिहरुलाई थुनामा राखी अनुसन्धान कार्य अघि बढाएको भन्ने समाचारप्रति संघको ध्यानाकृष्ट भएको छ। ‘यसका साथै यस्ता अवैध कारोबारलाई नियन्त्रण गर्न नेपाल सरकार, आन्तरिक राजश्व विभाग एवं सोअन्तर्गतका विभिन्न कार्यालयहरु र नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाप्रति संघका तर्फबाट धन्यवाद दिन चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ।