काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन्।
मंगलबार नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमको व्यवसायिक र संस्थागत विकासका लागि सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिएर संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्। उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको बताए। उनले आम सञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उल्लेख गरे।
उनले भने, ‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ। सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको छ। आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ।’
सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए। पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने र सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बिमाको व्यवस्था गरिने उनले बताए।
श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने उनले बताए।