काठमाडौं– सरकारले २०७२ मा पहिचान गरेका १४३ तुइनमध्ये हालसम्म १४१ स्थानमा तिनलाई झोलुंगे पुलले विस्थापित गरिएको तथ्यांक सार्वजनिक गरेको छ। दुई स्थानमध्ये पञ्चेश्वरमा भारतले सहमति नदिँदा र अर्को बर्दिया राष्ट्रिय निकुञ्जको समस्याका कारण बनाउन नसकिएको स्थानीय पूर्वाधार विभागले बताएको हो।
सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुंगे पुल निर्माण गरेको छ। स्थानीय स्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आउजाउकै लागि आवश्यक भएर बनाइएका तुइन हटाइसकिएको विभागको भनाइ छ।
कतिपय स्थानमा खोलापारि पूर्वाधार निर्माण गर्दा सामान लैजान राखिएका तुइन नझिकिएकाले पनि अझै ठाउँ–ठाउँमा रहेको विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्ठाले बताए।
आ–आफ्नो क्षेत्रमा रहेका तुइन अनुगमनको काम स्थानीय तहले गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘मानिसलाई नदी तर्न आवश्यकै भएर भन्दा पनि रमाइलो लागेर प्रयोग गरेका हुन सक्छन्’, महानिर्देशक मरहट्ठाले भने, ‘विभागले कुनै पनि ठाउँमा झोलुंगे छ भन्ने खबर पाउनासाथ पुल बनाउने गरेको छ।’
सरकारले २०७२ मा पहिचान गरेकामध्ये अधिकांश तुइन विस्थापन गरिसकेको उनको दाबी छ। आर्थिक वर्ष २०७२÷७३ मा महाकालीमा रहेका चार वटै तुइन हटाइएर झोलुंगे बनाइएको थियो। त्यसपछि तुइन हालिएको र त्यो तुइन हटाएर झोलुंगे बनाउन भारतबाट सहमति लिने प्रयास भइरहेको उनले जानकारी दिए।
तुइन देख्नासाथ विभागले झोलुंगे बनाइहाल्ने हुँदा समस्या नआउने भए पनि महाकालीमा भारत–नेपाल सीमामा पर्ने भएकाले भारतले सहमति नदिएसम्म बनाउन नसकिएको महानिर्देशक मरहट्ठाले बताए। उनले भने, ‘भारतीय सीमामा हामीले पहिचान गरिसकेर पनि सहमति नलिएसम्म एकतर्फी बनाउन नसकिएको हो।’
विगतमा झोलुंगेका लागि आवश्यक सामग्रीको समस्या रहेकामा अहिले समाधान भइसकेको विभागले जनाएको छ। पुलमा प्रयोग हुने स्टिल नेपालमै उत्पादन हुने र मुख्य लट्ठा बाहिरबाट ल्याउने गरिएको छ।
अघिल्ला वर्ष कोभिडका कारण उद्योग बन्द भएकाले लट्ठा ल्याउन समस्या थियो। त्यतिबेला स्टिलको मूल्य ह्वात्तै बढेकाले डेढ÷दुई वर्ष अलि समस्या भए पनि अहिले भने अवस्था सामान्य रहेको मरहठ्ठाले बताए। लट्ठा नेपालमा उत्पादन गर्ने कम्पनी नभएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ। अन्तर्राष्ट्रिय बोलपत्रमा चिनियाँ वा भारतीय कम्पनीले ठेक्का पाइरहेका छन् ।
विभागले पहिले तुइन भएका ठाउँमा मात्रै नभएर आवश्यक भएका अन्य स्थानमा पनि पुल निर्माण गरिरहेको छ। स्थानीय तह र प्रदेशबाट माग भइरहेको र त्यसको आधारमा झोलुंगे पुल निर्माण भइरहेको महानिर्देशक मरहट्ठाले जानकारी दिए।
मुलुकभर हालसम्म ९ हजार ७५० झोलुंगे निर्माण भइसकेको र सबै तुइन विस्थापित भएको उनले बताए।