शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सञ्चार नीति लोकतन्त्र प्रतिकूल नहुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सञ्चार नीति लोकतन्त्र प्रतिकूल नहुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राखेर लोकतन्त्रमैत्री सञ्चार नीति जारी गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सञ्चार नीति जारी गर्ने भरोसा दिलाएका छन्। 

मंगलबार नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राखेर लोकतन्त्रमैत्री सञ्चार नीति जारी गरिने बताएका हुन्।

यसका लागि सरकारी सञ्चार माध्यमले नै नेतृत्वकारी भूमिका खेल्न सक्ने विश्वास उनको छ। वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानुनी र व्यावहारिक सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनले बताए। 

प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीको हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासमा  सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्वद्र्धन गर्ने नीति ल्याइने जानकारी दिए। 

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति अगाडि सारिएको उनको भनाइ छ।

प्रधानमन्त्रीले आजको युगलाई ‘डिजिटल इरा’का रूपमा संश्लेषण गर्न सकिने धारणा राखे। उनले भने, ‘विश्वमा यस्तो कुनै क्षेत्र, विषय र मुद्दा छैन, जुन सूचना–प्रविधिको पहुँचभन्दा पृथक होस्। डिजिटल प्रविधिको विकासले सामाजिक उत्पादन पद्धतिमै गुणात्मक परिवर्तन ल्याइदिएको छ।’

सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि एवं  अद्यावधिक, व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनामा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षा प्रत्याभूति गर्दै सम्पूर्ण पत्रकारको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा एवं आतंकको बिमा व्यवस्था गरिने प्रधानमन्त्रीको भनाइ छ।

श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गर्ने एवं त्यसका निम्ति सञ्चारमाध्यम एवं सञ्चार क्षेत्रमा क्रियाशील सबैलाई सकारात्मक र रचनात्मक सहयोग गर्न उनले आग्रह गरे। प्रधानमन्त्रीले नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम भएकाले राज्यप्रतिको जिम्मेवारी र नागरिकप्रतिको जवाफदेहितामा आफूलाई अविचलित रूपमा प्रमाणित गरेको उल्लेख गरे।

कार्यक्रममा अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समीरजंग शाहले सूचना र सञ्चार क्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गर्दै संस्थाले व्यावसायिक दक्षता र सीपको विकासमा जोड दिएको बताए।

३८ वर्षअघि २०४२ मा आजकै दिन स्थापित नेपाल टेलिभिजनले आफ्नो प्रसारणका विभिन्न आरोह–अवरोह पार गर्दै देशको सबैभन्दा अग्रणी टेलिभिजनका रूपमा स्थापित भएको छ।

प्रकाशित: Jan 31, 2023| 13:29 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।