सोमबार, असार ३०, २०८२

म अज्ञात सहिद आएको छु

सुनको मस्तिष्कर हीराका हातहरूले लेखिएकोइतिहासको पुरानो किताबले सुनोस्!
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

सुनको मस्तिष्क

र हीराका हातहरूले लेखिएको

इतिहासको पुरानो किताबले सुनोस्!


मेरो गीतको भाषा फरक छ–

तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब!

तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो!

तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि

पस्नेछ अब रगतको बाढी!

र यो देशको आत्मा

फेरि एक पटक

मध्यरातमा बिउँझेर रुनेछ!


आऊ, गिरफ्तार गर!

हातमा बन्दुक हुनेहरू!

मलाई गिरफ्तार गर– म फेरि आएको छु!

कफ्र्यु लगाएर विचारको भग्न सडकमा

मेरो चेतनामा अन्तिम पटक छापा मार!

र मलाई जंगलमा लगेर फेरि बेपत्ता बनाऊ!

हातहरू गिँड, आँखा झिक र जिब्रो काटिदेऊ!


हिजो पनि इतिहासमा थाहै नपाई

पटक–पटक यसरी नै मारिएको थिएँ

म अब फेरि मर्नका लागि बाँचेर आएको छु!


मेरो चिहान खोइ कहाँनिर पर्छ?

चिहानमा राखिएका नम्बर प्लेटहरू झिक!

मेरो लासमाथि लासजस्तै ओढाइएका

ती रक्तिम झन्डाहरू झिक!

र, झिक तिम्रा लाटा शब्दकोशबाट

यो ‘अज्ञात सहिद’ भनिने शब्द!

म आज तिमीले सुन्ने गरी गीत गाउँदै

एउटा अनागरिक इलाकाको

अप्रिय कोलाहल आएको छु!

म फेरि मर्नका लागि बाँचेर आएको छु!


मेरो सडक खोइ कतातिर पर्छ?

भन ए! कुन म्युजियममा राखिएको छ

मेरो शिर काट्ने पुरानो तरबार?


झम–झम पानी परेको यो साँझमा

म देशसँग बास माग्न आएको छु!

तर देश

उसको आँगनीमा पाइला टेक्न नपाउँदै

कुक्कुर भुकाएर लखेटिरहेछ मलाई!

मेरी आमा!

अब साँझमा जोरबत्ती नबाल

म निभेको अँगार बनेर आएको छु!


कम से कम

रगत सकिएको मुटुको दियोमा

मायाको मधुरो बत्ती बालेर

जिन्दगीको एक्लो किनारामा उभिइरहेकी

मेरी प्रियसीले त थाहा पाउनुपर्छ–

म विगत इतिहासमा मारिएको छु भनेर!


कम से कम

तिहारमा सयपत्रीको माला बोकेर

माथि रित्तो अकासतिर एकोहोरो हेरिरहेकी

मेरी अबोध बहिनीले त थाहा पाउनुपर्छ–

विगत युद्धहरूमा मैले जिन्दगी हारेको छु भनेर!


म स्वयंले थाहा पाउनुपर्छ मेरो मृत्यु!

ए! म फेरि बाँचेर आएको छु

समयका स्ट्रेचरहरूमा आफ्नै लासलाई सुताएर

जिन्दगीको पोस्टमार्टम गराउन आएको छु!

म तिम्रो कविताको हेड लाइन

आज तिम्रै कलमको निबबाट बगिरहेको

फाल्सा–फाल्सा रगतको गीत गाउन आएको छु!

म आफ्नै लासलाई सिरानी हालेर

केही क्षण चुपचाप निदाउन आएको छु!


म त्रिवेणीको अक्करमा तोक्मा अड्याएर

चामलको ढाकर बिसाउनै लाग्दा

सप्तकोसीमा खसेको तिम्रो भरिया कान्छो

अहिले श्रमको ज्याला माग्न आएको होइन!

म मुग्लानको जंगलभित्र आरा काट्न जाँदा

जंगलमै हराएको तिम्रो सौतेनी भाइ

आफ्नो अंशको लालपुर्जा माग्न आएको होइन!


म भाक्सुको भीर र किमाथांकाका पहराहरुमा

नुनको ढाकरले थिचिएर नुनजस्तै बिलाएको

नरबहादुरकी अन्तरी श्रीमतीको पनाति

अहिले तिम्रो विरुद्धमा

उम्मेदवारी दिन आएको होइन!

म त तिम्रो मतदातासूचीबाट

एकाएक हराएको

आफ्नो नाम सच्याउन आएको छु!


मृत्यु दिवसको यो मिति मेटिएको क्यालेन्डरमा

म मेरो हराएको नागरिकता खोज्न आएको छु!

मेरो रगत पिएर निदाएको शान्त बन्दुकसित

म फेरि जिन्दगी लिएर

जुहारी खेल्न आएको छु!


आऊ, गिरफ्तार गर!

र फेरि कुनै निर्जन जंगलमा लगेर

मेरो विचारको उज्यालो खोस

मलाई रित्तो बनाऊ

र मेरो आवाजको हत्या गर!


यी मानचित्रका विखण्डित धर्साहरूभित्र

मेरो देश खोइ कहाँनेर पर्छ?

म देशबाट निस्किएर

देश खोज्न आएको छु!

यो भित्तेपात्रोको सुनसान जंगलभित्र

म अनाम समय खोइ कहाँनेर पर्छु?

दिवाल घडीका निर्जीव टंकारहरूभित्र

म मेरो वर्तमान खोज्न आएको छु!


सुनको मस्तिष्क

र हीराका हातहरूले लेखिएको

तिम्रो इतिहासको अन्तिम डिलमा उभिएर

म यो देशको एउटा अज्ञात सहिद

फेरि यही देशमा

आफ्नो रगतको मूल्य हराउन आएको छु!

पेट्रोल सकियो भने रगत बाल!

म बेहिसाब रगत बिक्री गर्न आएको छु!!

– विप्लव ढकाल (कविता कोशबाट साभार)

प्रकाशित: Jan 30, 2023| 12:12 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।