काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पुरानो राहदानी फिर्ता गरेका छन्। आइतबार राहदानी विभाग पुगेर लामिछानेले राहदानी बुझाएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कानून बमोजिम पुनः नागरिकता लिएसँगै लामिछानेले पुरानो नागरिकताबाट बनेको राहदानी विभागमा बुझाएका हुन्।
उनले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका भए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका थिए।
पछि अमेरिकाको नागरिकता त्यागेको भए पनि प्रक्रिया पुर्याएर फेरि नेपाली नागरिकता नलिएका कारण गत शुक्रबार सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री, सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए।