जुम्ला- जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाएपछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन्। स्नानीयले घर बाहिर बसेरै रात बिताएका हुन्।
भूकम्पको डरले जुम्ला सदरमुकामका केही बासिन्दा घर बाहिर निस्केर आगो तापेर बसेका थिए। प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु:ख पाएका बताए।
उनले यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने बताए। यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उनको आग्रह छ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताए।