काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना समेत रहेको महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।