काठमाडौं- राजश्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी करार भएका छन्। विशेष अदालतको पूर्ण इजलासले उनलाई दोषी ठहर गरेको छ।
रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
रिजालले ०७५ वैशाख १५ गते राजस्व अनुसन्धान विभागबाट शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए। त्यसअघि उनी खानेपानी, ढल निकास विभाग तथा भूमि सुधार तथा व्यवस्था मनत्रालयमा समेत कार्यरत थिए।
रिजालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिहरु निजकी श्रीमती स्वस्थानी रिजालसमेतको नाममा राखेको दाबीसमेत गरेको थियो। विशेष अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गरेको छ।