बागलुङ- जोखिमको पर्वाह नगरी मजदुरले बाग्लुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन्। राम्चेढुंगादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे। बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौंसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन्।
कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए। ‘चट्टाने भिरमा मजदुरले काम गरे’, अध्यक्ष थापाले भने, ‘पहरो काटेर, कतै चार/पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ।’
चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो। अहिलेसम्म राम्चेढुंगादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ। सबैभन्दा जटिल स्थल पार गरेर पदमार्ग बनाइएको थापाले जानकारी दिए।
दुई वर्षअघि ठूलासम्मादेखि गल्लाको घाँटीसम्म पदमार्ग बनाउन फोर्साली मजदुर खटिएका थिए। त्योबेला उनीहरू वनमै टहरो हालेर बसेका थिए। दैनिक बस्तीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि वनमै बास बसेर काम गरिएको कामदार डिलबहादुर घर्तीले बताए।
टहरो हालेर बस्दा ओढ्ने, ओछ्याउने कपडादेखि खानलाई चाहिने सामान जुटाएर जाने गरिएको उनको भनाइ छ। जोकोहीले जोखिमपूर्ण काम गर्न नसक्ने भएकाले निर्माणका क्षेत्रमा नाम कहलिएका फोर्साली मजदुरलाई झिकाइएको हो।
‘भौगोलिक कठिनाइ भएको ठाउँमा पदमार्ग निर्माण भइसकेको छ, अब गरिने काम केही सहज हुने भएको छ’, अध्यक्ष थापाले भने, ‘थप बजेट व्यवस्था भएमा यसै वर्ष पदमार्गको काम सकिन्छ, स्रोत जुटाउन पहल गरिरहेका छौँ।’
अप्ठ्यारो र भिरको ठाउँमा ‘रेलिङ’ राखेर पदमार्गलाई सुरक्षित बनाइएको उनले जानकारी दिए। गण्डकी प्रदेशको पर्यटन मन्त्रलायबाट छुट्याइएको पाँच लाख बजेटबाट यसपाली गल्लाको घाँटीदेखि तुलसीको मैरोसम्म पदमार्ग निर्माण गरिएको हो।
अझै करिब दुई किमी पदमार्ग बनाउन बाँकी छ। त्यसका लागि थप ३० लाख बजेट अवश्यक पर्ने छ। ‘बीचमा कतैबाट पनि बजेट आउन सकेन, झण्डै दुई वर्षजति पदमार्गको काम रोकियो’, उनले भने, ‘यो वर्ष प्रदेशबाट आएको पाँच लाख बजेटबाट तीन सय मिटर जति पदमार्ग बनिसकेको छ।’
बाँकी खण्ड सजिलो ठाउँको भएकाले कम बजेटमा पनि धेरै काम गर्न सकिने भएको छ। गलकोट-७ का वडाध्यक्ष राजबहादुर थापाले पदमार्गका लागि वडा र नगरबाट बजेट उपलब्ध गराउन पहल गर्ने बताए।
‘छोटो दूरी भएकाले यो पदमार्ग हुँदै घुम्टे उक्लने पर्यटक बढ्छन्, जतिसक्दो चाँडो पदमार्गलाई पूर्णता दिनुपर्छ’, वडाध्यक्ष थापाले भने। पदमार्गमा स्थानीय सामग्री, सीप र प्रविधि प्रयोग भइरहेको छ। उक्त पदमार्गमा संघ र प्रदेश सरकारको गरी हालसम्म ३५ लाख खर्च भइसकेको छ।
भौगोलिक जटिलताका कारण पनि पदमार्ग निर्माणले बढी समय लिएको हो। उक्त पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले पर्यटन विकासका लागि पदमार्गसहित अरु पूर्वाधार पनि चाहिने बताए। ‘पदमार्ग बन्दैछ अब पर्यटक आकर्षित गर्ने खालका गतिविधि पनि सञ्चालन गरिनुपर्छ’, बस्नेतले भने, ‘पूर्वाधार बनाउनसके घुम्टेमा पर्यटक आउँछन्।’
पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध हुनुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिए। एकतीस सय १० मिटर अग्लो घुम्टेको लेक गण्डकी प्रदेशका एक सय १० पर्यटकीय गन्तव्यमध्येमा सूचीकृत छ।
गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे प्रदेशकै उदाउँदो पर्यटकीयस्थलमा पर्छ। प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ। घुम्टेको चुचुरोमा सिद्ध भैरवको मन्दिर छ।
बर्सेनि वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ। त्यहाँ पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ। प्राकृतिकरूपले सुन्दर, हिमालमा देखिने सूर्योदय तथा सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसे वन आदि घुम्टेका विशेषता हुन्।
घुम्टेमा विगत एक दशकदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’समेत आयोजना हुँदै आएको छ। वसन्त याममा थरीथरीका गुराँसले घुम्टे ढकमक्क हुन्छ। यहाँको पर्यटन गुरुयोजना पनि निर्माणको चरणमा छ।
गलकोट नगरपालिकाले घुम्टेदेखि तल देउरालीसम्म सडक पुर्याउन लगानी गरिरहेको छ। बाग्लुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि हटिया पुगिन्छ। हटियादेखि कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ। टेउवाबाट पैदल अढाइ/तीन घण्टामा घुम्टे पुगिन्छ। गलकोट-१० पाण्डवखानी र ताराखोला-३ हिलबाट पनि घुम्टे पुग्न सकिन्छ।