काठमाडौं– गत १० माघ मध्याह्नको समय नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्य आफैंले आफूलाई आगो लगाएर आत्मदाह गरेको तस्बिर सेलाउन नपाउँदै कास्कीको पोखरामा पनि सोही प्रकृतिको घटना भएको छ।
आइतबार पोखरामा एक पुरुषले आत्मदाह प्रयास गरेका हुन्। पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले शरीरमा लागो लगाएर आत्मदाह प्रयास गरेका थिए। शरीरमा आगो लगाएर जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन्।
डेरामा बस्ने कृष्णबहादुर क्षेत्रीले बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि बचाउन गएकी संगीता सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए।
दुवै जनालाई जलिरहेको अवस्थामा उद्धार गरेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको उनले जानकारी दिए। क्षेत्रीलाई जोगाउन जाँदा सापकोटा पनि जलेको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको कारणबारे सूक्ष्म अनुसन्धान सुरु गरिएको कास्की प्रहरीले बताएको छ।