काठमाडौं– अध्यागमन विभागको सर्भर डाउन हुँदा दुई घन्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ। उनले भने, ‘अहिले म्यानुअल्ली उडान सामान्य रुपमा भइरहेको छ। सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।’
अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ। यात्रु व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा भीड बढेको उनले जानकारी दिए।
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो। केही बेरअघि इन्डिगो एयर नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ।
कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ। महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए। सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको उनको भनाइ छ।