जुम्ला- जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ।
लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो। विहिवार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो।
नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन्। नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँसफा सँगै हवाईसेवा सुचारु भएको हो। उनका अनुसार जहाँज आएपछि तिन दिनदेखी थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन्। विहीवार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन्।
त्यस्तै धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो। नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए। तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रु अलपत्र अवस्थामा थिए।