शनिबार, जेठ २५, २०८२

खानेपानी एवं ऊर्जा विषयक डिजिटलाइज कार्यशाला हुँदै

जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण विषयक कार्यशाला आगामी २४ माघमा हुन लागेको हो।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं– विश्वमा प्रविधिले फड्को मारिरहेका बेला नेपालमा पनि ऊर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै प्रविधिमार्फत थप परिस्कृत गर्न कार्यशाला गोष्ठी आयोजना हुने भएको छ। सहरी सेवा प्रबन्धका चुनौतीलाई ध्यानमा राख्दै जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण विषयक कार्यशाला आगामी २४ माघमा हुन लागेको हो।

विगत केही दशकमा नेपालमा पनि तीव्र सहरीकरणको अनुभव गरिरहका बेला यसका नकारात्मक प्रभावका रुपमा खानेपानी र ऊर्जाजस्ता अत्यावश्यक सेवा प्रवाहमा विभिन्न खाले अवरोध सिर्जना भएको सम्बन्धित संस्थाहरुले बताएका छन्। युनिसेफ तथा डब्लुएचओका अनुसार नेपालको सहरी जनसंख्याको २५ प्रतिशतमा मात्र सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवामा पहुँच पुगेको छ।

नेपालको ९४ प्रतिशत सहरी जनसंख्याको बिजुलीमा पहुँच छ भने ७२ प्रतिशत जनसंख्यामा मात्र भरपर्दो, किफायती र निर्वाध बिजुलीको पहुँचमा रहेको तथ्यांक छ। विश्व बैंकको उद्यम सर्वेक्षणअनुसार नेपालका दुई तिहाइ व्यावसायिक संस्थाले विद्युत्को अव्यवस्थालाई व्यवसाय विस्तारमा मुख्य बाधाको रूपमा पहिचान गरेका छन्।

जिएसएमए डिजिटल उपयोगिता कार्यक्रमको उद्देश्य आधुनिक प्रविधि र नवीन साझेदारीमार्फत किफायती, भरपर्दो, सुरक्षित र दिगो रुपमा ऊर्जा, खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन र यातायातजस्ता सहरी उपयोगिता सेवा जनताको पहुँचमा लैजानु हो। 

कार्यक्रमले सार्वजनिक र निजी क्षेत्रका प्रमुख सरोकारवालाका साथै लगानीकर्ता र संस्थालाई आधुनिक प्रविधि र नवीन साझेदारीमार्फत सहरी सेवा प्रवाहमा स्तरीकरण गर्न सक्षम बनाउनेछ। कार्यशाला सहरी ऊर्जा र खानेपानी सेवामा सर्वसाधारणको पहुँचलाई किफायती, भरपर्दो, सुरक्षित र दिगो बनाउने चुनौतीमा केन्द्रित रहनेछ। 

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका २० बढी वरिष्ठ सरकारी अधिकारी, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्था र जिएसएमएबाट सहयोग प्राप्त संस्था सहभागी हुनेछन्।

प्रकाशित: Jan 28, 2023| 11:38 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्