चितवन- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्षमा संयुक्त प्यानलका खगराज कँडेल निर्वाचित भएका छन्।
स्वतन्त्र उमेदवार गजेन्द्र वस्तीलाई उनले पराजित गरेका हुन्। विजयी कँडेलले १२० मत प्राप्त गर्दा वस्तीले ५५ मत प्राप्त गरे। ५ मत बदर भएको थियो। कुल २०३ मतदाता रहेकोमा १८० मत खसेको थियो।
यस्तै, उपाध्यक्ष सचिव र कोषाध्यक्षमा संयुक्त प्यानलकै उमेदवारहरु विजयी भएका छन्। उपाध्यक्षमा अधिवक्ता खगेश्वर अधिकारी, सचिवमा अधिवक्ता श्रीराम दवाडी र कोषाध्यक्षमा अधिवक्ता रमेश काफ्ले विजयी भएका थिए।
नयाँ नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धामा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) र प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) बीच एकता भएको थियो।
डिएलए र पिएलको साझा उमेदवारका लागि अध्यक्ष पदमा अधिवक्ता खगराज कँडेल प्रतिस्पर्धामा थिए भने डिएलए र पिएलएबीच एकता हुँदै गर्दा स्वतन्त्र समूह भनी अधिवक्ता गजेन्द्र प्रसाद वस्तीले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका थिए।
स्वतन्त्र समूहतर्फ भने अध्यक्षमा वस्तीसहित उपाध्यक्षमा अधिवक्ता बद्रि गौतम, सचिवमा अधिवक्ता जनकराम पौडेल र कोषाध्यक्षमा अधिवक्ता धर्मेन्द्र थापाले उमेदवारी दिएका थिए।