काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधी सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो।
व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दुर्भाग्य भएको चेम्बरको ठहर छ। चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समयदेखि सिर्जित समस्याले उद्योगी र व्यावसायिक क्षेत्रमा गम्भीर असर गरेको छ। व्यावसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुखदः घटना हो।’
मुलुकमै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झन्झट अन्त्य गर्नर बैंक तथा वित्तीय संस्थाले पनि ऋण लिने दिने प्रक्रियालाई सेवामुखी बनाउनुपर्ने चेम्बरले जनाएको छ। उच्च ब्याजदर नियन्त्रण एवं लगानीमुखी वातावरण निर्माणका लागि राज्यका निकायमा पटक–पटक ध्यानकर्षण गराइएको चेम्बरले उल्लेख गरेको छ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा हुने उधारो कारोबारलाई निरुत्साहित गरी नगद कारोबारलाई प्रोत्साहन एवं डिजिटल प्रणालीमा लैजान आग्रह गरे। चेम्बरले ब्याजदरको स्थायित्व र लगानीका लागि सहज वातावरण बनाउन केन्द्रीय बैंंक एवं बैंक तथा वित्तीय संस्थालाई पुनः आग्रह गरेको छ। पछिल्लो समय साना, मझौला, महिला उद्यमी, कृषिलगायत क्षेत्रको उद्यमशीलता विकासका लागि राज्यले ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा चेम्बरको जोड छ।