लमजुङ- दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ। गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक श्रोतसँग जोड्न पालिकाको वडा नम्बर ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो।
समुद्री सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाईमा रहेको पोखरी संरक्षणको लागि यस आर्थिक वर्षमा २६ लाख रुपैयाँ विनियोजन गरेर मर्मत तथा सम्हार गरिएको गाउँपालिकाले जनाएको छ।
यतिबेला गाउँपालिकाले सञ्चालन गर्ने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सो पोखरीको वरिपरी ढुंगा विच्छ्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए।
पोखरीको वरीपरी छ मिटरदेखि १० मिटरसम्म ढुंगा विच्छ्याउने काम भइरहेको छ। तीब्रताका साथ काम भइरहेको र यतिबेला अन्तिम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ।
यस पोखरीको ७३ मिटर लम्बाई र ६४ मिटर चौडाई क्षेत्रफल रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वटा पिक्निक स्थल समेत निर्माण भइरहेको छ।
चार वटै स्थानमा शौचालयको निर्माण कार्य भने पुरा भएको बताइएको छ। यहाँ केही समयअघि नै खानेपानीको धारा रहेपनि व्यवस्थित नभएकाले यसको व्यवस्थित गरिने भएको छ। दाम्राङ पोखरी क्षेत्र भेडीगोठ उपयुक्त क्षेत्रको रुपमा रहेको छ।
यस क्षेत्रमा आठ वटा भेडीगोठहरू रहेका छन्। यहाँ आउने पर्यटक यस पोखरी तथा क्षेत्रमा रमाउनुका साथै भेँडाहरुसँग समेत रमाउन चाहने पर्यटकको लागि झन् आकर्षणको स्थल हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ।
पर्यटकीय गन्तव्यको रुपमा यस ठाउँको विकासलाई आगामी दिनमा पनि निरन्तर दिने भएको छ। यहाँ पर्यटकको प्रचुर संम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न गाउँपालिका लागिपर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताए।
उनका अनुसार केही वर्ष अघि यस पोखरीलाई सडक सञ्जालमा जोड्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरेको थियो। तत्कालिन गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नका लागि रु २५ लाखमा चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइको सो सडक उक्त पोखरीसम्म निर्माण गरेको थियो।
त्यस्तै, प्रदेश सरकारकै आर्थिक सहयोगमा पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ। प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको रु पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ।
यस पार्कभित्र ढुङ्गाको सिंढी निर्माण, २८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा ९० वटा वृक्षरोपण गरिएको थियो।
यहाँ दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारहरुले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन्। यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिपे, दूधपोखरी हुँदै गोरखासमेत निस्कनसक्ने स्थानीयको भनाई छ।
संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमन हुने स्थानीयले अपेक्षा गरेका छन्। उहिल्यै यस पोखरीमा ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेरा भन्दा भन्दै अपभ्रम्स भई दाम्राङ पोखरी भएको भन्ने किंबदन्ती रहेको छ।
गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ। यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल चुली, मनाश्लु लगायतको हिमालहरु देख्न सकिन्छ।
गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त पोखरीदेखि १५ मिनेटको दुरीमा रहेको एउटा ८०/८२ मिटर लम्बाई भएको गुफा पनि हेर्न सकिन्छ। विगतका राजाहरूले बनाएका ऐतिहासिक गढीहरू घले गढी, पाण्डे गढी, खोलाल गढी समेत हेर्न सकिने गाउँपालिका अध्यक्षले बताउनुभयो। यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार ५०० मिटर पदमार्ग समेत निर्माण भइसकेको छ।
यस चक्रिय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको बताइएको छ। प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ।
यस्ता पर्यटकीय र ऐतिहासिक स्थल एवं क्षेत्रहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटक भित्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको छ।