सिन्धुपाल्चोक- तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष बितिसकेको छ। सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन।
चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेसनल इङ्क नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरी काम नसकेपछि आयोजनाले नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने भएको हो।
इङ्कले सन् २०२० देखि बाँकी काम नगरेको आयोजनाले जनाएको छ। 'अब इङ्कले काम नगरेपछि नयाँ ठेकेदार कम्पनीको खोजी गरिने निर्णय भएको छ, यसका लागि तीन नगरको बैठकले तय गर्नेछ,' आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले भने। उनका अनुसार नयाँ ठेकेदार कम्पनीको खोजीबारे तीन नगरका जनप्रतिनिधिको बैठक छिट्टै बस्ने तयारी भइरहेको छ।
तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ। आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन्। गत वर्षको चैतसम्ममा काभ्रेपलाञ्चोकका तीन पुराना नगर बनेपा, धुलिखेल र पनौतीका स्थानीयवासीका घरघरमा २४सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्याउने जनाइएको थियो।
परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो। नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ। बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो। सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब १ अर्बमा सम्पन्न हुने जनाइएको थियो।
हाल खानेपानी वितरण कार्यमा अन्योल देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाएका हुन्। नगरप्रमुखले खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थाल्न लगाएका छन्।
यस्तै, पनौती नपा–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था तथा केन्द्र निर्माण कार्य सक्न नयाँ ठेकेदार कम्पनीको खोजी गर्नुपर्ने जनाइएको छ। आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ।
वादेका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हाल पनौतीको शारदादेवीस्थानमा पानी पुर्याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ। मुख्य तथा अन्य पाइपलाईनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ।
आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन) को काम भएको छ। तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी आयोजनाको काममा ढिलाइ भएको जनाइएको छ।
आयोजनाका अनुसार क्षति पुर्याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन्। तीन नगरका १ हजार १ सय १४ इन्टर–कनेक्सन गरिएको छ। उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ। आयोजना सम्पन्न भएपछि तीन नगरमा ‘नेपाल स्ट्यान्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्।
'अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदैछन्, यो निकै सुखद विषय हो,' धुलिखेलका नगर प्रमुख अशोक ब्याञ्जूले भने। उनका अनुसार नयाँ ठेकेदार कम्पनीले केही महिनामै आयोजना सकेर खानेपानी वितरण हुन सक्ने उनको अनुमान छ।
आयोजनाको कुल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एसियाली विकास बैंकबाट अनुदान तथा ३५ प्रतिशत रकम २०६९ साल असारमा नगर विकास कोषबाट ऋणका रूपमा लिइएको थियो। बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट व्यहोरिने जनाइएको छ।
वार्षिक ५ प्रतिशत ब्याज तोकिएको उक्त ऋणको सावाँ र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरिसक्नुपर्ने सम्झौतामा भएको थियो। यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रूपमा हेरिएको थियो। आयोजनाको कुल लागत भ्याटबाहेक ९९ करोड ८ लाख ७ हजार छ।