काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारमा कार्यरत कर्मचारीलाई इमानपूर्वक काम गर्न सुझाव दिएका छन्। उनले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने प्रतिबद्धता जनाएका छन्। बिहीबार ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवस अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले भन्सार क्षेत्रमा रहेका समस्या र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा मन्त्रीभन्दा कर्मचारी नै जानकारी रहेकाले इमानदार भएर काम गर्न निर्देशन दिए। ‘सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गरे मात्रै कर्मचारीप्रति नागरिकको भरोसा बढ्ने हो। भन्सार प्रशासन वैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न सके मात्र राजस्व असुली प्रगतिमा पुग्न सक्छ,’ उनले भने।
अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तद्अनुरुप काम गर्नुपर्नेमा जोड दिए। उनले भन्सार चुहावट नियन्त्रण गर्न कडाइका साथ लाग्नसमेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिए।
प्राचीनकालदेखि राजस्व संकलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता उनले औंल्याए।
भन्सार प्रशासनले सम्पादन गर्ने प्रमुख कार्यका रुपमा रहेको व्यापार सहजीकरण, राजस्व संकलन र सामाजिक हित संरक्षणका दायित्वलाई प्राथमिकतामा राखी अवैध व्यापार र चोरी निकासी पैठारीबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलले आग्रह गरे।
भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने एवं राजस्व चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ छ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले विभिन्न चरणमा अगाडि बढाएको भन्सार सुधार तथा आधुनिकीकरणका रणनीति तथा कार्ययोजनाको कार्यान्वयनमा जोड दिए। उनले अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गर्दै व्यापार सहजीकरण र राजस्व संकलन गरी राष्ट्र निर्माणका लागि आवश्यक पर्ने स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न कर्मचारीलाई आग्रह गरे।
राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनमा रहेका कमी–कमजोरी तत्काल हटाउने र राजस्व चुहावटको दृष्टिले जोखिमयुक्त क्षेत्र र क्रियाकलापमा निगरानी बढाउन तथा कानुनविपरीतका कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार कार्यालयको संस्थागत सुधारका लागि सरकारले निर्धारण गरेको नीति, विधि र कानुनअनुसार कार्यसम्पादन भइरहेको जानकारी दिए। विभागले समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन, अवैध व्यापारको निगरानी गर्ने तथा चोरी पैठारीबाट हुने चुहावट नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायसँगको समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।