शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नौबिसे-नागढुंगा सुरुङमार्ग: निर्माण अवधि सकिन पाँच महिना बाँकी रहँदा ४६ प्रतिशतमात्र भौतिक प्रगति

नौबिसे-नागढुंगा सुरुङमार्ग: निर्माण अवधि सकिन पाँच महिना बाँकी रहँदा ४६ प्रतिशतमात्र भौतिक प्रगति

कोरोनापछि सुरुङ मार्ग निर्माणले गति लिए पनि गत २० पुसमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर उद्योग बन्द गर्न आग्रह गरेपछि आयोजनाको काम ठप्प भएको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– जापानको हाज्मा आन्द्रो जेभीले निर्माण जिम्मा पाएको नौबिसे–नागढुंगा सुरुङ मार्ग निर्माण अवधि आगामी जेठसम्म तोकिएको छ। तर हालसम्म आयोजना निर्माण आधा पनि सकिएको छैन। 

आयोजनाका अनुसार सुरुङ मार्ग निर्माणको हालसम्म भौतिकतर्फ ४६.६ प्रतिशत र वित्तीयतर्फ ४८.८३ प्रतिशत प्रगति भएको हो।

आयोजनाअन्तर्गत टनेलतर्फको काम ७० प्रतिशत सकिएको छ। कुल २ हजार ६८८ मिटर लम्बाइ हुने मुख्य टनेल पूर्व र पश्चिमतर्फ गरेर १ हजार ७११ मिटर खन्ने काम सम्पन्न भएको हो।

२ हजार ५७७ मिटर इमर्जेन्सी टनेलमध्ये १ हजार ९४८ मिटर खन्ने काम सम्पन्न भएको आयोजना प्रमुख माधवप्रसाद अधिकारीले बताए।

१२८ मिटर दुई टनेललाई जोड्ने बाटोमध्ये ७४.२ मिटर बाटो खनिसकिएको छ। जापानको करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब गरेर कुल २२ अर्ब लागत अनुमानमा सुरुङ मार्ग निर्माण भइरहेको छ।

तोकिएकै समयमा आयोजना सम्पन्न हुने छाँटकाँट नदेखिएपछि म्याद थपका लागि सरकारलाई पत्राचार गरिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए। 

कोरोनापछि सुरुङ मार्ग निर्माणले गति लिए पनि गत २० पुसमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर उद्योग बन्द गर्न आग्रह गरेपछि आयोजनामा नदीजन्य वस्तु अभाव देखिएको छ। सरकारको निर्णयकै कारण करिब ७०० बढी क्रसर उद्योग बन्द भएका छन्।

तर ११ माघको मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगलाई नियमन गरेर पुनः सञ्चालन गर्न दिएपछि सुरुङ मार्ग निर्माणले गति लिने अधिकारीको विश्वास छ। 

सरकारले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न असार मसान्तसम्म समयसीमा तोकेको छ। क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र अनुमतिबिनै चलिरहेकालाई बन्द गर्ने निर्णय गरे पनि आयोजना निर्माणका लागि अब गिटीबालुवा अभाव नहुने अधिकारीले बताए।

गिटीबालुवा अभावमा नौबिसे–नागढुंगा सुरुङ मार्ग निर्माण करिब करिब रोकिएको अवस्थामा रहेको उनको भनाइ छ। सरकारले अवैध उद्योग बन्द गराएसँगै आन्दोलनमा उत्रिएका क्रसर उद्योग व्यवसायीले ढुवानी नै बन्द गरेपछि काम रोक्नुपरेको उनले जानकारी दिए।

सरकारले अवैध क्रसिङ उद्योग बन्द गर्न आग्रह गरेसँगै सुरुङ मार्गमा ढलान गर्नुपर्ने र टनेल खन्ने मुख्य काम रोकिए पनि अब क्रसर उद्योगमाथिको बन्देज खुलेसँगै सञ्चालन हुने अधिकारीले दाबी गरे। 

आयोजना निर्माण दैनिक दुई सिफ्टमा भइरहेको र वैध क्रसर उद्योगबाटै गिट्टी,बालुवा खरिद गर्दै आए पनि व्यवसायीले ढुवानी बन्द गर्दा काममा बाधा भएको उनले बताए।

सुरुङ मार्ग आयोजना निर्माणका लागि आवश्यक  गिट्टी–बालुवा तथा रोडा धादिङबाट ल्याउने गरिएको छ।

प्रकाशित: Jan 26, 2023| 18:25 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्