रुपन्देही- बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नम्बर ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ना८ख ७९२४ नम्बरको टिपर सडकबाट खोलामा खसेको हो।
बुधबार राति भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो।
दुर्घटना भई टिपर सडकबाट खसेपछि घटनास्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गरे पनि चालकलाई फेला नपारेपछि बिहीबार बिहान पुनः खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।