मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि एक व्यक्तिले आफ्नो शरीरमा पेट्रोल छर्किए र आगो लगाए। बाटोमा हिँडिरहेकाहरु एकैछिन त अलमलिए। के गर्ने कसो गर्ने भयो सायद। नजिकै भएका प्रहरीसमेत मूकदर्शक देखिए। धन्न कसैले मिनरल वाटरको बोतल लिएर आयो र खन्याइदियो। त्यसपछि एकजनाले पानीको जारले आगो निभाउने प्रयास गरे। पानी खन्याएपछि ती व्यक्ति ढले।
उनी रहेछन् इलामका प्रेमप्रसाद आचार्य। उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो। बेलुका स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की उनलाई भेट्न अस्पताल पुगिन्। राज्यमन्त्री कार्कीसँग उनले कुरा पनि गरेका छन्।
कार्कीले किन यस्तो गर्नुभएको, हामी थियौं नि राज्य थियो नि भन्दा प्रेमले भनेका छन्– कसैले सुन्दैनन्। उनी बोलिरहँदा आँखा बन्द थिए। तोसिमाले आँखा खोल्न आग्रह गर्दा उनले खोले र भने– मलाई निकै दुखेको छ।
प्रेमले भनेका थिए, ‘मलाई भेट्न रवि सरलाई पनि यहाँ पठाइदिनुस्, प्रचण्ड सरलाई पनि पठाइदिनुस्। मलाई यहाँ हुँदैन भने घरमा लैजानुस्।
शरीरमा आगो लगाउनु भन्दा केही घण्टा अघिमात्र उनले फेसबुकमा लामो स्टाटस लेखेका थिए। आफूले गरेको कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेका उनले नयाँ सरकारका केही प्रतिनिधिलाई सम्बोधन नै गरेर स्ट्याटस लेखेका थिए। सोही नामको लिस्टमा स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीको पनि नाम थियो।
बुधबार बिहानै दुखद् खबर फैलियो– प्रेम आचार्य रहेनन्। प्रेमको मृत्युपछि सामाजिक सञ्जाल आक्रोशित छ। उनलाई राज्यले नै मारेको हो भनेर आगो ओकलिरहेका छन् मानिसहरु। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेका छन्- यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऊॅ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ। आरोपप्रत्यारोप हैन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउॅबाट भूमिका निर्वाह गरौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भन्छन्- एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।
सयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले राज्यलाई, सरकारलाई, संसदलाई, यहाँको प्रणालीलाई धिक्कार्दै स्टाटस लेखेका छन्। विमल आचार्य लेख्छन् - आत्महत्या हैन, हत्या हो। मानसिक समस्या पहेँलो पात हो, जरो र जमिन त राजनीति नै हो। लुटेरा व्यक्ति समाइनुपर्छ, लुटेरा नीति फेरिनुपर्छ। प्रेमले प्रस्तुत गरेको समस्या र समाधान प्रेमवाद हो। मार्क्सवाद र माओवाद, पुँजीवाद र समाजवादको विलास आफ्नो ठाउँमा छ, प्रेमवादअनुसार काम होस्।
मुमाराम खनालकोभनाइ छ- अत्यन्त दुखद् ! मुलुकको यूवा शक्तिमा आएको चरम निराशाको परिणाम हो- आत्मदाह। विचौलिया, दलाल र भ्रष्टहरूको संरक्षक आजको राजनीति हो।
विश्वरसिंह मेवाहाङ भन्छन्- त्यो सुसाइड नोट होइन, त्यो आम नेपालीको आत्मवृतान्त हो। त्यो आत्मदाह होइन, त्यो बिद्रोह हो। राज्य र राज्य सञ्चालकहरुले जनतामाथी गरिरहेको ठगी विरुद्धको एक कारुणिक विद्रोह हो जसले राज्यको कालो अनुहार आम विश्वलाई देखाइदियो। यसबाट पाठ सिकेर राज्य जनताप्रति जिम्मेवार बनोस्।
गनेस पौडेल आक्रोश पोख्छन्- असफलता नै असफलताको चाङमा परेर व्यावसायीले आत्महत्या गर्छ, कृषकले आत्महत्या गर्छ। पेशाकर्मीले आत्महत्या गर्छ। विद्यार्थीले आत्महत्या गर्छ। आत्महत्या गर्नेको कारण र अर्को लामो छ। तर दशकौँ काम गर्दा पनि यो देश बनाउन सकिनँ भनेर नेताले किन आत्महत्या गर्दैन ?
गृहमन्त्री रवि लामिछानेले भने आचार्यसँग माफी मागेका छन्- आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पिडाको परिणाम हो। दु:ख त यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नु होला।