मंगलबार, वैशाख १६, २०८२

अधुरै रह्यो प्रचण्ड र रविलाई भेट्ने प्रेमको चाहना

मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यवस्थाा बुझ्न बर्न हस्पिटल पुगेकी थिइन्। अस्पतालको बेड नम्बर ४०७ मा थिए प्रेम आचार्य। उनलाई पूर्णरुपमा अक्सिजन दिइएको थियो।
 |  बुधबार, माघ ११, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, माघ ११, २०७९

काठमाडौं- इलामका प्रेम आचार्यले मंगलबार नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरे। संघीय संसद् भवन अगाडि उनले आफ्नै शरीरमा आगो लगाए। प्रहरी र वरपरका मानिसको सहयोगमा केही बेरमा उनको शरीरको आगो त निभाइयो तर त्यतिन्जेल शरीरको ८० प्रतिशत भाग जलिसकेको थियो।

पछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा लगियो। उनको शरीरको अगाडिपट्टिको भाग बढी जलेको थियो। गम्भीर अवस्थामा उपचार गर्दै गर्दा बुधबार बिहान उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए।

आचार्यले फेसबुकमा लामो स्ट्याटस लेखेर मंगलबार आत्मदाहको प्रयास गरेका थिए। आफूले गरेको कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेका उनले नयाँ सरकारका केही प्रतिनिधिलाई सम्बोधन नै गरेर स्ट्याटस लेखेका थिए। सोही नामको लिस्टमा स्वास्थ्यराज्यमन्त्री तोसिमा कार्कीको नाम थियो। 

मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यवस्थाा बुझ्न बर्न हस्पिटल पुगेकी थिइन्। अस्पतालको बेड नम्बर ४०७ मा थिए प्रेम आचार्य। उनलाई पूर्णरुपमा अक्सिजन दिइएको थियो। तोसिमा पुग्दा प्रेमको होस् थियो। उनी बोल्न सक्ने अवस्थामा थिए। चिकित्सकसँग उनको स्वास्थ्यवस्थाबारे बुझेपछि राज्यमन्त्री तोसिमाले प्रेमसँग कुरा गरेकी थिइन्।

कार्कीले प्रेमलाई भनेकी थिइन्, 'प्रेम दाइ म तोसिमा कार्की।' 

Metro Mart
worldlink

प्रेमले जवाफ फर्काएका थिए, 'म चिन्छु।' यति भनिसकेपछि प्रेम एकोहोरो बोलिरहे। आफ्नो स्ट्याटसमा लेखिएका कुरा दोहोर्‍याए।

स्वास्थ्यराज्यमन्त्री कार्कीले भनिन्, 'किन यस्तो गर्नुभएको? हामी थियौं, राज्य थियो नि।'

उनले जवाफ थियो, 'कसैले सुन्दैनन्, कसैले सुन्दैनन्।'

तोसिमाले भनिन्, 'हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौं, यस्तो गर्नुहुन्थेन।'

बोलिरहँदा आँखा बन्द थियो, तोसिमाले आँखा खोल्न आग्रह गरिन्, उनले आँखा खोले। अनि भने, 'मलाई निकै दुखेको छ।'

तोसिमाले चिकित्सकसँग प्रेमलाई पेन फ्री राख्न आग्रह गरिन्। केहिबेर चिकित्सकसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्, उपचारमा कुनै कसुर बाँकी नराख्न भनिन्।

उपचारका संलग्न चिकित्सक सुरेन्द्रजंग बस्नेतले तोसिमासँगको ब्रिफका क्रममा भनेका थिए, 'उहाँको शरीरको ८० प्रतिशत भाग जलेको छ। अहिले बोल्न सके पनि अवस्था चिन्ताजनक हो।' 

निस्कने बेलामा तोसिमाले प्रेमलाई भनिन्, ‘डाक्टर सावहरू यहाँ हुनुहुन्छ, नआत्तिनुस्, केही परेमा हामी गछौं।’ 

तोसिमाले  यति भन्दै गर्दा प्रेमले भने, ‘मलाई भेट्न रवि सरलाई पनि यहाँ पठाइदिनुस्, प्रचण्ड सरलाई पनि पठाइदिनुस्। मलाई यहाँ हुँदैन भने घरमा लैजानुस्।'

तोसिमाले प्रेमलाई सान्त्वना दिँदै भनिन्, 'हामी छौं त नआत्तिनुस् तपाईंलाई ठिक हुन्छ।’

प्रेमलाई ठिक भएन। र, रवि-प्रचण्डलाई भेट्ने उनको अन्तिम चाहना पनि पुरा हुनसकेन।

प्रकाशित: Jan 25, 2023| 08:05 बुधबार, माघ ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्