मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दम्पती आत्महत्या : केटीको सिउँदोमा सिन्दुर, केटाको गोजीमा चाँदीको चुरा

दम्पती आत्महत्या : केटीको सिउँदोमा सिन्दुर, केटाको गोजीमा चाँदीको चुरा

परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे।
 |  मंगलबार, माघ १०, २०७९

यज्ञराज जोशी

यज्ञराज जोशी

मंगलबार, माघ १०, २०७९

काठमाडौं– भनिन्छ, प्रेम अन्धो हुन्छ। प्रेममा डुबेको मानिस मर्न अनि मार्न पनि तयार हुन्छ। यस्ता कैयौं घटना भइरहेका हुन्छन्। 

मंगलबार झापामा यस्तै भयो। झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन्। कचनकवल गाउँपालिका–४ केचनाको खुट्टामुनि भन्ने ठाउँमा एभरेष्ट चिया बगान छ। हरियो चिया बगानको दृष्यले जोकोहीलाई मोहित पार्छ। तर, त्यही चिया बगानको बीचमा रहेको सिरिषको रुखमा मंगलबार अप्रिय दृष्य देखियो। एक जोडी रुखमा झुन्डिएको अवस्थामा फेला परे। 

कचनकवल–४ का २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीको प्रेम कहानी सुखद् रहेन। कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार राजेशकुमार र पवित्रा प्रेम सम्बन्धमा थिए। परिवारले बिहे नगरिदिने भएपछि उनीहरुले एक वर्षअघि भागी बिहे गरे। 

केटीका परिवारलाई उनीहरूबीचको सम्बन्ध मन परेको थिएन। बिहेपछि पनि उनीहरुलाई परिवारले स्वीकारेन। केटीको परिवारले उनलाई मुद्दामामिला गर्न दबाब दिए। दबाबमा परेर उनले राजेशविरुद्ध प्रहरीमा उजुरी दिइन्। प्रहरीले मिलापत्र गराइदियो अलग–अलग बस्ने शर्तमा। 

युवतीका अभिभावकले छोरी नाबालिग भएको भन्दै आफ्नो घर फर्काएको प्रहरीले बताएको छ। केटाविरुद्ध मुद्दा पर्दा साढे ६ लाख रुपैयाँमा मिलाइएको थियो। मुद्दापछि दुवै आ–आफ्नो घरमा बसेका थिए। तनको दूरी टाढा भए पनि उनीहरूबीचको मनको दूरी टाढा हुन सकेको रहेनछ। परिवार, समाज र कानुनले उनीहरूबीचको तनको दूरी बढाए पनि मनको मायाको पिरामिड थप चुलिँदै गएको थियो। 

Metro Mart
worldlink

परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे।

केटाले आफूबाट छुटेकी प्रेमिकाको लागि चाँदीका चुरा बनाएका थिए। ‘केटाको गोजीमा चाँदीको चुरा फेला परेको छ। सायद पवित्राको लागि बनाएर ल्याएको हुनुपर्छ। केटीले सिउँदोमा सिन्दूर भरेकी छन्। केटाको प्रेमको निसानी हुनुपर्छ। यस्तो अवस्थामा उनीहरूले एउटै डोरीमा पासो लगाएको पाइयो,’ गाउँपालिका अध्यक्ष राजवंशीले सुनाए।

परिवारका मानिसले दुई आत्मालाई अलग नगरिदिएको भए उनीहरूको यस्तो दुखद् अन्त्य नहुने उनी बताउँछन्। परिवारका मानिसले मनोभाव बुझ्न नसकेकै कारण दुखद् घटना घटेको राजवंशीले बताए। ‘उनीहरूबीच भेटमा के भयो थाहा छैन। घटनाको प्रकृति हेर्दा एक हुन नसक्ने भएपछि एउटै डोरीमा झुन्डिएको हुन सक्ने देखियो। घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाबारे अनुसन्धान थालिएको छ। घटनाको वास्तविकता अनुसन्धानपछि नै बाहिर आउला,’ उनले भने। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार घटनास्थलमा प्रहरी टोली खटाइएको छ र अनुसन्धान सुरु भएको छ।

यसअघि गत साउनमा कचनकवल–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए। मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना रहेका थिए। अध्यक्ष राजवंशीले घटना एउटै गाउँपालिकामा भए पनि प्रकृति भने फरक रहेको बताए।

प्रकाशित: Jan 24, 2023| 12:06 मंगलबार, माघ १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।