काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायत विषयमा भारतीय अधिकारीसँग छलफल गरेका छन्।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन आग्रह गरेका हुन्।
भारतीय सहयोगमा सञ्चालित जनकपुर– जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनाबारे उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणका लागि भारतीय सचिवलाई आग्रह गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।
‘शिष्टाचार भेटवार्ता भएकाले मिहीन तरिकाले आयोजनाका समग्र पाटा र पक्षबारे छलफल नभए पनि समस्या समाधान तथा शीघ्र आयोजना सम्पन्न गर्ने विषयमा महत्त्वपूर्ण छलफल भयो’, सचिव शर्माले भने। काठमाडौं–रक्सौल रेलमार्ग तथा अन्य परियोजनाबारे महत्त्वपूर्ण छलफल भएको उनले बताए। सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ।