काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको बताएका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको बताउँदै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल गर्ने बताए।
राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने तर अहिले देखिएका समस्या समाधान गर्न आवश्यक छलफल गरेर अघि बढ्ने मन्त्री पौडेलको भनाइ थियो। करका विषयमा समस्या देखिएको गुनासो आएको भन्दै मन्त्री पौडेलले सरकारी सेवा प्रवाहमा कतै समस्या देखिए निजी क्षेत्रले त्यसको जानकारी सरकारलाई गराउन आग्रह पनि गरे।
स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने र यसका लागि कार्यविधि तयार पार्न पहल गर्ने
अर्थमन्त्री पौडेलले बताए। लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधान गर्न सरकारले पहल गरिरहेको उनको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साना, घरेलु तथा मझौला उद्योगलाई विकास गर्न आवश्यक रहेको भन्दै सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे। सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको विकासका लागि बैंकहरुसँग सहकार्य गरिरहेको उनको भनाइ छ।
महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदरमा स्थायित्व, सरल र सहज कर प्रणाली बनाउन राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।