काठमाडौं- चिनियाँ बजारमा दुई हप्ता अगाडि नै सार्वजनिक भएको अनरको नयाँ स्मार्टफोन 'अनर एक्स सेभेन ए' नेपाली बजारमा पनि सार्वजनिक हुने भएको छ। सस्तो र टिकाउ फोनको रुपमा कम्पनीले यो फोन सोमबार नेपाली बजारमा सार्वजनिक गर्दैछ। चिनियाँ बजारमा भने यो फोन जनवरी ४ मा सार्वजनिक भएको थियो।
फोनमा ६.७५ इन्चको डिस्प्ले छ। यो फोन नेपाली बजारमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ। फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ।
त्यस्तै फोनमा २२.५ वाटको वायर्ड चार्जर सहितको ६००० एमएएचको ब्याट्री राखिएको छ। यसले गर्दा यो फोन निकै टिकाउ हुने र दैनिक प्रयोगको लागि निकै उपयोगी हुने कम्पनीको दाबी छ।
चिनियाँ बजारमा यो फोनको मूल्य १८५ डलर (करिब २४ हजार रुपैयाँ) तोकिएको छ। नेपाली बजारमा भने यसको मूल्य २५ हजार रुपैयाँ देखि साढे २५ हजार रुपैयाँसम्म पर्ने अनुमान गर्न सकिन्छ।