आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकको ऋण तिर्नु साटो सडक आन्दोलन गर्नु अराजकता: गभर्नर

बैंकको ऋण तिर्नु साटो सडक आन्दोलन गर्नु अराजकता: गभर्नर

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने अनि तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै बैंकबाट लिएको कर्जा तिर्न अनुरोध गरे।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन्।

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने अनि तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै बैंकबाट लिएको कर्जा तिर्न अनुरोध गरे।

बैंकको कर तिर्दिन भन्नु माथिल्लो रुपको अराजकता भएको उनको भनाइ छ। उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनी संगठित रुपमा दबाब दिन नमिल्ने बताए। गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौती देखिएको उल्लेख गरे। बैंकको कर्जा सार्वजनिक सम्पत्ति अर्थात् सर्वसाधारणको निक्षेप भएको उनले स्पष्ट पारे।

वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको भन्दै उनले कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने तर्क गरे। उनले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गरे। 

अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक यो विषयमा सतर्क र सजग रहेको उल्लेख गरे। उनले ऋण तिर्न पर्दैन भन्ने कुरा स्थापित भयो भने बैंक प्रणाली र अर्थतन्त्र कहाँ पुग्छ भनेर प्रश्न गरे।

प्रकाशित: Jan 21, 2023| 16:31 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्