काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकबाट एक वर्षअघिदेखि नै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आइरहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुनेछ भन्ने विश्वास लिएको छ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको 'अर्थतन्त्र : अबको बाटो' विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष निजी क्षेत्रका विद्यमान समस्या र सुझावबारे चेम्बरबाट सुझाव प्रस्तुत भएको थियो। त्यस लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्बर अफ कमर्सले आभार व्यक्त गरेको हो।
नेपाल राष्ट्र बैंकले चालु पूँजीकर्जा मार्गदर्शन २०७९ परिमार्जन गरी २०८२ असारसम्म पुर्याइएकोमा समेत नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेको छ।
चालु पूँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई ४० प्रतिशत नै कायम गर्न र र डबल डिजिटको आर्थिक विकास हासिल गर्न सिंगल डिजिटको ब्याजदर कायम हुनु पर्नेतर्फ पनि चेम्बरले विशेष आग्रह गरेको छ। तरलता व्यवस्थापनका लागि पूँजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सके अर्थतन्त्रले गति लिने अपेक्षा चेम्बरको छ।