काठमाडौं- सरकारले मापदण्ड विपरित संचालन भएको भन्दै क्रसर उद्योग बन्द गर्दा ८ खर्ब बराबरको विकास आयोजना प्रभावित भएको छ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले सरकारले क्रसर उद्योग बन्द गर्दा ८ खर्ब बराबरका आयोजना प्रभावित भएको बताए।
‘सरकारले क्रसर उद्योग बन्द गर्दा हजारौं आयोजनाहरु प्रभावित बन्न पुगेका छन्,’ उनले भने, ‘यसमा सरकारले राखेको विकास खर्चको लक्ष्यसम्म पुग्न कठिन भएको छ।’ सरकारले मापदण्ड अनुसार संचालन नभएका क्रसरहरुको छानविन गरेर मात्र अवैध क्रसरलाई बन्द गर्नुपर्नेमा हाल ७०० भन्दा धेरै क्रसरहरु बन्द गरेको सिंहले बताए। ‘नेपालमा रहेका ७५३ वटै पालिकाहरुमा सरकारले मापदण्ड अनुसार क्रसरहरु संचालन भएका छन् वा छैनन् भन्ने कुराको यकिन गरेर मात्र यस्तो निर्णय लिनुपर्ने थियो,’ उनले भने।
सिंहका अनुसार हाल क्रसर बन्द हुदा निर्माण सामाग्रीको मूल्य तीन गुणाले बढेको छ। ‘एक महिना अगाडि १५ हजार पर्ने बालुवा अहिले ३५ बजारमा पनि किन्न पाइदैनन्,’ उनले भने, ‘त्यसैले विकास निर्माणमा बाधा पुगेको छ।’
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेका अनुसार एक खर्ब लगानी रहेको क्रसर उद्योग संकटमा परेको छ। नेपालभर १२०० भन्दा धेरै क्रसर, हजारौं टिपर व्यवसाय, कामदार र विकास निर्माणको काम ठप्प भएको उनले बताए। अहिले सरकारले बनाएको मापदण्डको आधारमा नेपालमा घर समेत बनाउन नसक्ने अवस्था रहेको न्यौपानेको भनाइ छ।
‘हाम्रो देशमा मापदण्ड पर्दा पछाडिबाट आएको छ,’ उनले भने, ‘यसलाई संशोधन गरे मात्र समस्या समाधन हुनेछ।’ न्यौपानेका अनुसार २०७१ को मापदण्ड बनेको थियो। सरकारले दिएको प्रमाणपत्रका आधारमा क्रसरहरु संचालित छन।’कानुन अनुसार संचालन गरिएका क्रसर उद्योगलाई किन रोक्ने?,’ उनले भने, ‘कानुन मान्न हामी तयार छौ।’