काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डामा एक ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक चालकको मृत्यु भएको छ।
ना. ६ ख ६६१५ नम्बरको ट्रकले प्र.३-०२-०१ प ८२५२ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिवेसी नगरपालिका-९ घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको मृत्यु भएको हो।
ठक्करबाट घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अर्को १ जना र पैदलयात्री १ जना समेत २ जनाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ।
ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ। दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिई फरार चालकको खोजी भइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले बताएको छ।