काठमाडौं- काठमाडौंको चोभारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव तीन दिनपछि फेला परेको छ।
कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका खत्रीको शव आज माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो। माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिल्भर रङको कार नदी किनारमा खसेको थियो। दुर्घटनामा कारमा सवार दक्षिणकाली नगरपालिका १ का ४० वर्षिय राजकुमार खत्री बेपत्ता भएका थिए। श्रीमती ४० वर्षिया अम्बिका लामिछाने भने घाइते भएकी थिइन्।
सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ।