काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातमा भएको अनिवार्य नगद मार्जिनको व्यवस्था खारेज गरेको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र जारी गर्दै बिहीबार सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको हो।
विदेशी विनिमयको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले एक वर्षअघि आयातको प्रतितपत्रमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था लागू गरेको थियो।
राष्ट्र बैंकले गत वर्षको पुस र माघमा गरेर ४८ समूहका वस्तुको आयातका लागि नगद मार्जिनको व्यवस्था गरेको थियो। आयातमा विभिन्न उपायमार्फत कडाइ गरेपछि विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ। डलर सञ्चितिमा सुधार आएपछि गत महिना राष्ट्र बैंकले निर्माण सामग्रीको आयातमा गरिएको नगद मार्जिन हटाएको थियो। व्यवसायीहरूले पनि अनिवार्य नगद मार्जिनको व्यवस्थाको विरोध गर्दै आएका थिए।
आयात अत्याधिक बढेको र यसले विदेशी मुद्रा सञ्चिति घटाएपछि राष्ट्र बैंकले आयात निरुत्साहनस्वरुप यस्तो प्रयास गरेको थियो। विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्ष माघ २६ गतेबाट ४५ भन्सार कोडका करिब २७ सय वस्तुको आयात गर्दा ५० देखि ७० प्रतिशत बराबरको रकम व्यवसायी आफैंले हाल्नुपर्ने व्यवस्था गरेको थियो।
स्वतन्त्र व्यापार नीतिमा यसले असर गर्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले अघिदेखि यसको विरोध गर्दै आएको थियो।