काठमाडौं– अर्थ मन्त्रालयले चालू आव २०७९/८० को बजेटमा सरकारी निकायले न्यूनतम १५ प्रतिशत प्रशासनिक खर्च घटाउने लक्ष्य लिएअनुसार खर्च कटौती मापदण्ड सार्वजनिक गरेको छ। अर्थको आन्तरिक नियन्त्रण समितिले मापदण्ड तयार पारेर प्रस्ताव अगाडि ल्याएको हो। मापदण्ड कार्यान्वयनमा गएपछि अर्थलाई करिब ९ करोड ५७ लाख १६ हजार बचत हुनेछ।
मन्त्रालयले खर्च कटौती गर्न बोतलको पानी खरिद, भ्रमण निरुत्साहितलगायत कार्यक्रम अगाडि सारेको छ। अनावश्यकबाहेकका स्वदेश तथा वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ। चालू बजेटमा साढे ५३ लाख यसका लागि छुट्याइएको थियो।
यस्तै, दुईपांग्र्रे तथा चारपांग्र्रे सवारी साधन सर्भिसिङ खर्च घटाउने, अति आवश्यकबाहेक र पटके रुपमा प्रयोग हुने सामान मौज्दान नराख्ने, नयाँ फर्निचर खरिद घटाउनेलगायत व्यवस्था मन्त्रालयले मापदण्डमा उल्लेख गरेको छ। मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य सामाग्री छपाइलाई निरुत्साहित गरेर वेबसाइटमै राख्नेछ। यसका लागि बजेटमा ८० लाख ६० हजार छुट्याइएको थियो।
सबै महाशाखाका लागि छुट्याइएको कार्यक्रम प्राथमिकीकरण गरी अति आवश्यक मात्रै गर्ने, चालू आवमा स्वीकृत भए पनि नगर्दा हुने कार्यक्रम हाललाई स्थगित गरिएको छ। मन्त्रालयले अति आवश्यकबाहेक एसी, हिटर र पंखा प्रयोग घटाउनेछ भने बोतलको पानी सकभर प्रयोग गर्ने छैन।
चालू र पुँजीगत खर्च दुवैमा गरी ३२ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ। पारिश्रमिक, भत्ता, भ्रमण खर्च, तालिम खर्च, मेसिनरी तथा औजार, सवारी साधनजस्ता प्रशासनिक खर्चका लागि ३५ करोड ६९ लाख छुट्याइएको छ।