काठमाडौं– दक्षिण एसियामा खाद्य सुरक्षा ग्यारेन्टी गर्न कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढन थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन्।
भारत सब–कन्टिनेन्ट एग्री फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा यस क्षेत्रका मुलुकबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायतका समस्या रहने गरेको छ।
अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने आवश्यकता औंल्याए।
श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रका ४० प्रतिशत सीमान्तकृत किसान रहेकाले तिनको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए।
कृषि क्षेत्रको निर्यात लागत निकै महँगो भएको र यहाँका धेरै देशमा खुद कृषिजन्य वस्तु आयात रहेको बताउँदै खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको उनको भनाइ छ। दक्षिण एसियाले संयुक्त रुपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले गरे।
दुबई मल्टी कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए। कृषि बजार विस्तारका लागि ब्लकचेनलगायत प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उनको धारणा छ।
सम्मेलनमा उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने र लगानी बढदा निर्यात प्रवद्र्धन एवं आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए।
उनले साफ्टाअन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तु घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए। दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुन सक्ने बताए। शुक्रबारसम्म चल्ने सम्मेलनमा १२ देशका करिब ४ सय सहभागी छन्।