काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए।
प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए।
पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो।
बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरुलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिएको एसपी दिनेश मैनालीले जानकारी दिए।