काठमाडौं– नेपाल–भारत सरकारबीचको जीटुजी सम्झौताअनुसार पहिलो वर्षमा १ लाख ५० हजार टन मल ल्याउने सम्झौता भएकामा पहिलो चरणमा ३० हजार टन मल ल्याइने भएको छ। हालसम्म ७ हजार ५०० टन रासायनिक मल नेपाल आइपुगेको कृषि सामग्री कम्पनीले बताएको छ। पहिलो चरणमा ३० हजार टनमध्ये मंगलबारसम्म ७ हजार ५०० टन युरिया भित्रिएको कम्पनी जानकारी दिएको हो।
मंगलबारसम्म तीन र्याकमा ७ हजार ५०० टन युुरिया आयात भइसकेको कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले बताए। एक र्याकमा २ हजार ५०० टन मल हुन्छ। त्यसबाहेक थप पाँच र्याक अर्थात् ७ हजार ५०० टन मल लोड भएर बन्दरगाहाबाट हिँडिसकेकाले केही दिनमै नेपाल आइपुग्ने उनको भनाइ छ। माघ दोस्रो सातासम्म जीटुजीमार्फत ल्याइन लागेको ३० हजार टन मल नेपाल आइसक्ने उनले बताए।
सरकारले मल खरिद गर्न चालू आवको बजेटमा १५ अर्ब बजेट विनियोजन गरेको थियो। थप १६ अर्ब स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको छ।
हाल कम्पनीसँग १५ हजार टन रासायनिक मल मौज्दात छ। कम्पनीले ग्लोबल टेन्डर गरेर चालू आवको पुस मसान्तसम्म १ लाख १ हजार ७०० टन मल आयात गरिसकेको छ। नेपाललाई वार्षिक १ लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्षको फागुन दोस्रो साता भारत र नेपालबीच (सरकार–सरकार जीटुजी) समझदारीपत्रमा हस्ताक्षर भएको थियो। जीटुजीबाहेक थप ग्लोबल टेन्डरबाट ५९ हजार टन मल आयात गर्न लागिएको कम्पनीले जनाएको छ।