सिरहा- सिरहाको धनगढीमाई नगरपालिका–५ गोठ टोलस्थित सडकमा प्र.२–०१–००३ प. ५२९७ नम्बरको मोटरसाइकल र डब्लुबि ६५ डि ७४३९ नम्बरको ट्रक एकापसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुखिपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, नवलपरासीपश्चिम सुनवल नगरपालिका–१२ भुमहीस्थित सडकमा लु.२ ख १२२६ नम्बरको बस र बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एकापसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कारका चालक अर्घाखाँची घर भई कपिलवस्तु वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय ईन्द्रमणी पौडेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।