काठमाडौं- यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव आफन्तले बुझ्न थालेका छन्। पोखरा महानगरपालिका १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेको छ।
चालक दलका सदस्यसहित ४९ जनाको शव मंगलबार (भोलि) काठमाडौं ल्याइने भएको छ। २१ जनाको शव आफन्तले पहिचान गरी पोखरमामै पोस्टमार्टम गर्न लागिएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार शव काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगिसकेको छ। दुर्घटनामा ज्यान गुमाएका पोखरातर्फका यात्रुको शव पोखरामै जिम्मा लगाउने तयारी गरिएको छ। बाँकी शव काठमाडौं ल्याइने बताइएको छ।
कास्की प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार घटनास्थलबाट अहिलेसम्म ७० वटा शव संकलन गरिएको छ भने दुईजना अझै बेपत्ता छन्। आजका लागि उद्धार कार्य स्थगित गरिएको छ।
यती एयरलाइन्सको विमान आइतबार (हिजो) पोखरा विमानस्थलनजिक सेती खोँचमा दुर्घटना भएको थियो। उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए।