सोमबार, जेठ २७, २०८२

सरकारको आम्दानी करिब ५ खर्ब, खर्च पौने ६ खर्ब

अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२.१३ प्रतिशत बराबर देखिएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्त सकिँदासम्म सरकारको खर्च र आम्दानीबीच ठूलो बेमेल देखिएको छ। अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२.१३ प्रतिशत बराबर देखिएको छ।

पुस मसान्तसम्म सरकारले कुल ४ खर्ब ९४ अर्ब ८४ करोड आम्दानी गरेको खर्च हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयले विवरण सार्वजनिक गरेको हो। सोही अवधिमा सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड नाघेको छ। यस हिसाबले सरकारको आम्दानीको तुलनामा खर्च साढे ८१ अर्ब बढी देखिन्छ। 

पुस मसान्तसम्म आयकरको ४० प्रतिशत दाखिला गर्नुपर्ने व्यवस्थाका कारण पनि अन्य महिनाको तुलनामा धेरै राजस्व उठ्ने गरेको छ। त्यसैले सरकारले महिनाको अन्तिम दिन शनिबार सबै राजस्व कार्यालय र बैंक खुलै राखेको थियो। शनिबार मात्रै सरकारले १८ अर्ब बढी राजस्व संकलन गरेको छ। पुसभर मात्रै सरकारले १ खर्ब २९ अर्ब ५५ करोड राजस्व संकलन गरेको छ। 

कार्यालयका अनुसार कुल आम्दानीमध्ये सरकारले राजस्व शीर्षकअन्तर्गत ४ खर्ब ५८ अर्ब ९८ करोड संकलन गरेको छ। यसमध्ये पनि कर राजस्व ४ खर्ब ५ अर्ब २६ करोड रहेको छ। त्यस्तै, गैरकर राजस्व ५३ अर्ब ७१ करोड उठेको छ। 

संकलित राजस्व चालू आवको कुल लक्ष्यको तुलनामा ३२.७१ प्रतिशत हुन आउँछ। राजस्वबाहेक सरकारले अनुदानबापत ४ अर्ब ८० करोड आम्दानी गरेको छ। सरकारलाई अन्य प्राप्तितर्फ ३१ अर्ब प्राप्त भएको छ। 

सरकारले पुस मसान्तसम्म गरेको कुल खर्चमध्ये सबैभन्दा धेरै चालू खर्चमै भएको छ। समीक्षा अवधिसम्म ४ खर्ब ५५ अर्ब १२ करोड खर्च भएको छ, जुन चालू आवको लक्ष्यको ३८.४६ प्रतिशत हो। हालसम्म ५३ अर्ब ४५ करोड मात्र पुँजीगत खर्च भएको कार्यालयले जनाएको छ, जुन चालू आवको कुल पुँजीगत खर्च लक्ष्यको १४ प्रतिशत मात्र हो। 

सरकारको वित्तीय खर्च भने लक्ष्यको करिब ३० प्रतिशत नजिक पुगेको छ। पुससम्म ६७ अर्ब ७६ करोड वित्तीय शीर्षकअन्तर्गत खर्च भएको छ। चालू आवमा सरकारले २ खर्ब ३० करोड २१ लाख वित्तीय खर्च गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: Jan 16, 2023| 12:22 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्