काठमाडौं– पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान तथा पोस्टमार्टमका लागि विज्ञ चिकित्सक सम्मिलित राष्ट्रिय टिम बनाउने तयारी भएको छ। पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सम्मिलित टिम बनाउन लागिएको हो।
दुर्घटनामा परेकामध्ये अहिलेसम्म ६८ जनाको शव फेला परेको छ। संकलित सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। पहिचान भएका कतिपय शवको पोखरामै पोस्टमार्टम गरेर बुझाउने र कतिपयको पहिचान तथा पोस्टमार्टमका लागि काठमाडौं पठाउनुपर्ने प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए।
चालक दलका सदस्य, विदेशी यात्रु तथा नचिनिने अवस्थामा भएका कतिपय शव काठमाडौं पठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज करिब ११ बजे विमानस्थल नजिकैको सेती नदी खोंचमा दुर्घटनामा परेको थियो। विमानमा चालक दलका ४ सदस्यसहित ७२ सवार थिए।
उपत्यकाका अस्पताललाई अलर्ट रहन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्घटनामा परेका मृतकको फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित ‘केस’ व्यवस्थापनका लागि उपत्यकाका अस्पताललाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै अस्पताललाई अलर्ट रहन निर्देशन दिएका हुन्।
अधिकारीका अनुसार स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौं उपत्यकाका हब अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग समेत स्वास्थ्य मन्त्रालयले निरन्तर समन्वय गरिरहेको छ। विमान दुर्घटनामा परेकाको उपचारका साथै शव व्यवस्थापनका लागि हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरिएको अधिकारीले बताए।